दोलखा : दोलखा जिल्ला बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको जीवन अब एकदमै कठिन बनेको छ। स्तन क्यान्सर पीडित आफ्नी आमाको उपचार खर्च जुटाउन ‘पठाओ’ चलाउँदै आएका महेश बुढाथोकीको जेन्जी आन्दोलनका क्रममा मृत्यु भएपछि आमाको उपचारको आधारसमेत टुटेको छ। छोरा गुमाएपछि दिलकुमारी दिन–रात रोइरहेकी छन्। उनी भन्छिन्, “छोरा कहिले ‘आमा’ भन्दै भित्र पस्ला जस्तो लागिरहन्छ। बितेको विश्वासै लाग्दैन।”
२२ वर्षीय महेश बुढाथोकी गत भदौ २४ गते कोटेश्वरमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका थिए। महेशका बुबा केशव बुढाथोकी भन्छन्, “छोराले १२ कक्षा सकेको थियो। युरोप जान चाहेको थियो। माल्टा जाने भन्दै ५० हजार रुपैयाँ मेनपावरलाई बुझाइसकेको थियो। फुर्सद मिल्दा आमाको उपचार खर्चका लागि पठाओ चलाउँथ्यो। न छोराको विदेश जाने सपना पूरा भयो, न आमाको उपचार पूरा गर्ने उसको चाहना। अब त हामी सबैथोकबाट खाली भयौँ, बेसहारा भयौँ।”
दस वर्षअघि केशव आफ्नो परिवारसहित दोलखाको दुर्गम गाउँ बुलुङबाट राम्रो भविष्यको आशामा काठमाडौँ आएका थिए। आँसु पुछ्दै उनी भन्छन्, “गाउँमा बाँदर, भालुका कारण खेतीपाती गर्नै मुस्किल भयो। जेसुकै गरे पनि परिवार पाल्न गाह्रो भएपछि काठमाडौँ झरियो। तर आज यस्तो दिन देख्नु पर्यो।” आफू अनपढ भए पनि भारी बोकेर छोरालाई १२ कक्षासम्म पढाएको उल्लेख गर्दै उनी थप्छन्, “महेश भन्थ्यो— ‘अब म बाआमालाई सुख दिन्छु, युरोप जान्छु, पैसा कमाएर काठमाडौँमा घर किन्छु।’ तर ती सबै कुरा सपना जस्तै हराए।”
हाल केशव सुकेधारास्थित एक ग्यास डिपोमा काम गर्छन्। महिनाको १५ हजार तलबले न काठमाडौँमा परिवार पाल्न पुग्छ, न छोराछोरी पढाउन। उनी भन्छन्, “घरको मियो नै भाँचियो। श्रीमती पनि बिरामी छिन्। उनको उपचार कसरी जुटाउने? अर्को छोरा पनि सानो छ।”
भदौ २४ गतेको बिहान सम्झँदै आमा दिलकुमारी भन्छिन्, “एक हजार लिएर ‘आमा म स्कुटी सर्भिसिङ गरेर आउँछु’ भनेर निस्किएको थियो। तर छोरा फर्केन। श्वास भेट्ला कि भनेर आफैं किस्ट मेडिकल कलेज गएँ। तर त्यस बेलासम्म ऊ बितिसकेको रहेछ।” घरका सबै काम–काज गर्न रुचाउने महेश नहुँदा उनीहरूलाई अहिले त्यही घरमै बस्नसमेत गाह्रो परेपछि परिवार केही टाढा कोठा सरिरहेको छ।
महेशले आफ्नो भाइलाई भदौ २३ कै दिन भोलिपल्ट आन्दोलनमा झन् ठूलो जोखिम हुनसक्ने भन्दै काममा नजान सम्झाएको रहेछ। तर आफैं भने २४ गतेको घटनामा मारिए। “म बिहानै काममा जानुपर्ने भएकाले त्यस दिन महेशसँग भेट हुन पाएन। एकाएक मृत्युको खबर आयो, केही सोच्नै सकिनँ,” बुबा केशव सम्झन्छन्।
प्रहरीको गोली लागेपछि महेशलाई स्थानीय एक व्यापारीले किस्ट मेडिकल कलेज पुर्याएका थिए। अस्पतालमा छ भन्ने खबर सुनेपछि आन्दोलनका कारण सवारी नचलेकोले केशव सुकेधाराबाट तीन घण्टा हिँडेर अस्पताल पुगे। तर त्यतिबेला महेशको मृत्यु भइसकेको थियो।
बुढाथोकी परिवारलाई सरकारले १५ लाख रुपैयाँ राहतबापत उपलब्ध गराए पनि अन्यतर्फबाट खासै सहयोग नपाएको उनीहरू बताउँछन्।
प्रतिक्रिया