पेन किलर बढी खाएर मेरो किड्नी ड्यामेज भयो : केपी ओली

विहीबार, २५ बैशाख २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना किड्नीमा आएको समस्या धेरै पेन किलरको प्रयोगका कारण भएको बताएका छन् । उनले  नेपाल कुष्ठरोग सम्मेलनका अवसरमा दिएको सम्बोधनमा आफ्नो जीवनका केही कठिन क्षणबारे उल्लेख गर्दै स्वास्थ्यका लागि सचेत हुनुपर्नेमा जोड दिएका थिए।

ओलीले पुराना दिनहरूको स्मरण गर्दै भने, “मलाई किड्नी फेल हुनुको अर्थ पेन किलरले हो। सहनै नसकेर पेन किलर खाएको हुँ। अहिले नै मरियो भने के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने भनेर बाँची हालौं, पछि हेरौंला भनेर पेन किलर खाएको हुँ।” उनले स्वास्थ्य अवस्थाका सन्दर्भमा अत्यधिक पेन किलरको असरबारे खुलेर चर्चा गरेका थिए।

उनले जेल जीवनको कठिन परिस्थितिहरू सम्झँदै त्यस बेला पर्याप्त खाना, स्वास्थ्य सेवा र सरसफाइको अभावका कारण आफ्नो स्वास्थ्य गम्भीररूपमा प्रभावित भएको बताए। “पेटभरी घाउ भएर दुखेर असह्य हुन्थ्यो, पेन किलर दिन्थे, त्यो खाँदा किड्नी फेल नभएर के हुन्छ त?” उनले आफ्नो यथार्थ बयान गर्दै भने।

'दाँत हामी कसरी सफा गर्दथ्यौं भने, एउटा ब्रस किन्यो, त्यो पनि महंगो किन्न सकिंदैनथ्यो, सस्तो किन्यो । दुई चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ! ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दातमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिंदैनथ्यो । मुख बाङ्गो  पारिपारिकन ब्रस गर्नु पर्दथ्यो । टुुथपेस्टको ट्युुव हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदानिर्चोदा…! नयाँ किनौं पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ ! खैर ती दिन नसम्झिऔं, सम्झिदा अलिअलि रमाइलो पनि लाग्छ । तर, त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? मलाई क्षयरोग लाग्यो ।' उनले भने । 

'औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ! मेरो किड्नी फेल हुनुुको अर्थ पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ! अहिले बाँची हालौं, पेन किलरको असरपछि हेरौंला भनेर ।' उनले भने । 

यस्ता काबु बाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुुका परिस्थिति त्यस बेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गर्दथ्यौं । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हविगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गर्दथ्यौं । हामी हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्छ । तर कुुष्ठरोग कतिबेला सर्छ थाहा हुँदैन । यो सुरुमा त यो पैदा हुन्छ । के कारणले पैदा हुुन्छ, त्यो पत्ता लगाउन र त्यो पैदा नहोस् भन्ने कुराका लागि हामीले कुनै भ्याक्सिन पो तयार गर्न सक्छौं कि, अथवा तयार भएपछि पत्ता लाग्यो भने तुुरुन्त उपचार सुरु गर्नु पर्दछ ।' उनले भने । 

ओलीले स्वास्थ्य जोगाउन आहार, व्यायाम र जीवनशैलीको महत्त्वबारे पनि जोड दिएका थिए। उनले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नु स्वास्थ्य सुधारको प्रमुख आधार भएको र यसका लागि जनचेतना, सही खानपान र सक्रिय जीवनशैली अनिवार्य रहेको तर्क प्रस्तुत गरे।

उनले आयुर्वेदिक औषधि प्रणालीको सम्भावनाबारे पनि उल्लेख गर्दै अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। “आयुर्वेदिक औषधि भनेको प्रकृतिसँग सम्बन्धित छ, रोग निको पार्न सक्ने तत्व पनि प्रकृतिमै निहित छ,” ओलीले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार