विराटनगरका ४ जनामा कोरोना पुष्टि, बढ्दै छ जोखिम

मंगलबार, २४ असार २०८२

विराटनगर । विराटनगरमा कोरोना भाइरस (कोभिड–१९)का ४ जना संक्रमित फेला परका छन् । संक्रमित फेला परेसँगै जोखिम बढ्न थालेको पुष्टि हुन्छ । संक्रमण बढ्न थालेसँगै सतर्कता अपनाउनुपर्ने अवस्था आएको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् । 


उनीहरुका अनुसार संक्रमणको लहर सुरु हुने संकेत मिलेको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विराटनगर–२ का २, ९ र १६ का १–१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।


संक्रमितहरूमा केही सामान्य लक्षण मात्र देखिए पनि समुदायमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको महानगरले जनाएको छ । संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले असार २५ र २६ गते अर्थात बुधबार र बिहीबार विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।


दीर्घरोगी तथा ५५ वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिने छ । उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकहरूलाई संक्रमणबाट जोगाउन खोप अनिवार्य देखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले बताए ।
खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ । खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवले बताए ।


संक्रमण फैलिन नदिन महानगरले ज्वरो, खोकी, नाकबाट पानी बग्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा ढिलो नगरी चिकित्सकको सम्पर्कमा पुग्न सबैमा आग्रह गरेको छ । ‘यस्ता लक्षणहरू कोरोना भाइरसको सुरुआती संकेत हुन्,’ डा. यादवले भने, ‘यस्तो अवस्थामा लापरबाही गर्नु सामूहिक जोखिम निम्त्याउने काम हो ।’


महानगरपालिकाले मास्क प्रयोग गर्न, भिडभाडबाट टाढा रहन, साबुनपानीले नियमित हात धुन तथा आधारभूत स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमण दर नियन्त्रणमै रहेको देखिए पनि सावधानी नअपनाए अवस्था गम्भीर हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

‘सचेत जनसमुदाय र सहकार्ययुक्त प्रयासले मात्रै जोखिम न्यूनीकरण सम्भव छ । लापरबाही गर्नु पहिलाको गल्ती दोहोर्याउनु हो,’ डा. यादवले भने । हालसम्म संक्रमितको संख्या कम रहेको भएपनि फेरि सतर्कता र सावधानी अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार