काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरूलाई विचार उत्पादनका केन्द्रको रूपमा उल्लेख गर्दै सर्जकहरूले सिर्जनाको माध्यमबाट समाजमा नवीन चिन्तन प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नेपाली लेखक सङ्घको नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रपति भवन शीतल निवासमा बधाई दिंदै पौडेलले लेखकहरू स्वयंमा सत्ता, सङ्गठन र अभियान भएको टिप्पणी गरे ।
गत चैत १६–१७ गते लुम्बिनीमा सम्पन्न अधिवेशनबाट वियोगी बुढाथोकीको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई बधाई दिँदै राष्ट्रपतिले लेखक सङ्घले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताका पक्षमा लामो समयदेखि योगदान दिँदै आएको स्मरण गरे ।
सङ्घको इतिहासमा लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, हृदयचन्द्रसिंह प्रधानजस्ता व्यक्तित्वहरूको सक्रियता उल्लेख गर्दै राष्ट्रपति पौडेलले लेखकहरूले प्रजातन्त्र सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
२००८ सालमा स्थापना भएको लेखक सङ्घले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनसँगै सर्जकहरूको हक–अधिकार र सिर्जनात्मक स्वतन्त्रताको संरक्षणमा काम गर्दै आएको छ ।
प्रतिक्रिया