काठमाडौं : नेपालमा हालसम्म करिब दुई लाखकोे संख्यामा कुष्ठरोगका बिरामी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालले विसं २०६६ मा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरिसकेको छ ।
कुष्ठरोग उल्मूलनसम्बन्धी विश्वव्यापी लक्ष्यअनुरुप नेपालले सन् २०३० भित्र कुष्ठरोग उल्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त लक्ष्य पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रयासरत छ । विगत दश वर्षयत प्रत्येक वर्ष औषतमा दुई हजार ८६७ जनाका दरले नयाँ बिरामी फेला परेका मन्त्रालयले जनाएको छ ।
नेपालमा १८ जिल्लामा मापदण्डभन्दा बढी अर्थात् प्रतिदश हजारमा एकजना कुष्ठरोगी फेला परिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवले डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा भेटिएका छन् । मुलुकका ७७ जिल्लामध्ये १८ जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेकाले यसको उल्मूलन चुनौतीपूर्ण देखिएको उहाँले बताए ।
नेपालमा कुष्ठरोगका कारणले झण्डै दुई लाख जना व्यक्ति प्रभावित भएका जनाउँदै डा देवकोटाले त्यसमध्ये करिब ३० हजार अपाङ्गता भएका व्यक्ति रहेका अनुमान गरिएको बताए ।
नेपालमा कुष्ठरोग प्रभावित व्यक्ति र तिनका परिवारका सदस्यको आर्थिक स्थिति चिन्ताजनक रहेको मन्त्रालयका अधिकारहरू बताउछन् । प्रभावित व्यक्तिमध्ये कम संख्यामा मात्र रोजगारी प्राप्त गरेका छन् भने रोजगारीका लागि आवश्यक पर्ने सीप र अनुभव नभएका व्क्ति बढी रहेका मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन तथा अन्य सङ्घ, सङ्संस्थासँगको सहकार्यमा मन्त्रालयको स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मातहत रहेको कुष्ठरोग नियन्त्रण तथा व्यवस्थापन शाखाबाट कुष्ठरोगको उल्मूलन गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ । सङ्घीय सरकारबाट जारी भएको राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८ २०८२) कार्यान्वयनमा छ । सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा कुष्ठरोगका कारण बिरामी परेका व्यक्तिलाई निःशुल्क औषधि उपलब्ध गराएको छ ।
नेपाल विश्व स्वास्थ्य सङ्गठनको २३ वटा प्राथामिकता प्राप्त मुलुकमध्येमा परेको छ भने विगत दश वर्षमा प्रत्येक वर्ष करिब दुई हजार ८६७ नयाँ बिरामी दर्ता हुने गरेका सचिव डा देवकोटाले जानकारी दिनुभयो । “सन् २०२३ मा मात्र दुई हजार ५२२ नयाँ बिरामी दर्ता भएका थिए । जसमा एक हजार ४९ जना अर्थात् ४२ प्रतिशत महिलाको संख्या थियो”, उनले भने ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कुष्ठरोग उन्मूलनका लागि नयाँ रणनीति निर्माण गरिने बताएका छन् । आज यहाँ आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’मा उनले सन् २०३० सम्म यो रोग उन्मूलनका लागि प्राथमिकता निर्धारण गर्दै आवश्यक रणनीति अख्तियारको आवश्यकता औँल्याए ।
मन्त्री पौडेलले मधेस प्रदेशमा प्रभावितको संख्या बढी देखिनुको कारण खोज्नुपर्ने र सोहीअनुरुप रणनीति बनाउने बताए । साथै दातृ निकायलाई प्राथमिकताका साथ बिरामीप्रति विश्वास दिलाउन सुझाव दिए ।
मन्त्रालयका सचिवले डा देवकोटाले यो रोग उन्मूलनका लागि उच्चस्तरको राजनीतिक प्रतिबद्धताको आवश्यकता औँल्याए ।
के हो कुष्ठरोग ?
कुष्ठरोग छालामा फुस्रो दाग देखिने र छालाको वरिपरिको भागलाई नष्ट गर्ने प्रकारको सङ्क्रमण हो । उक्त रोगका कारण व्यक्ति शारीरिक रूपमा अपाङ्ग हुनसक्ने सम्भावना हुन्छ । यो रोग सहज रूपमा निको हुने र सबैभन्दा कम सर्ने भएपनि रोग लागेर निको भएका व्यक्ति अपमानको सिकार हुन बाध्य भएका छन् ।
शारीरिक रूपमा देखापर्ने असरका कारण कुष्ठरोगबाट पीडित अधिकांश व्यक्ति मानसिक रोगबाट गुज्रन परिरहेको मन्त्रालयका सचिव देवकोटाले बताउनुभयो । मानसिक रूपमा हुने डर, त्रास र भयका कारण व्यक्तिलाई समाजमा अस्वीकार नगर्ने, र नकारात्मक दृष्टिले हेर्ने संस्कारको अन्त्य हुनुपर्ने चिकित्सकहरू बताउँछन् । कुष्ठरोग एउटा शारिरिक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा पनि असर पार्ने सङ्क्रमणका रूपमा रहेको छ ।
प्रतिक्रिया