कोशीमा सीटी सफारी : अनुशासनहीन हुँदा बन्दै छ दुर्घटनाको मुख्य कारक

शनिबार, ०३ साउन २०८२

इटहरी  : सुनसरीको इटहरी हुँदै पूर्व–पश्चिम राजमार्गका साथै कोशी मेची सहितका 'हाइवे'मा दैनिक हजारौँको संख्यामा साना सवारीसाधन सीटी सफारीहरू गुड्दछन् । यी साना सार्वजनिक सवारीसाधन एकातिर जनताको सहुलियतपूर्ण यातायात माध्यम भए पनि अर्कोतिर लापरबाही, अव्यवस्था दुर्घटनाको कारक बनिरहेका छन् । 

अधिकांश यस्ता सवारीसाधनहरू ट्राफिक नियमको समेत उल्लङ्घन गर्दै मुख्य लेनमा दौडिरहेका हुन्छन् । सर्भिस लेनको प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, मोड र लेन परिवर्तनमा लापरबाही देखाउनेजस्ता गतिविधिले पूर्वी क्षेत्रका सडक दिनप्रतिदिन असुरक्षित बन्दै गएको देखिन्छ । जसका कारण पनि धेरै दुर्घटना हुँदा अकालमै ज्यान गुमाउने, घाइते तथा अङ्गभङ्ग हुनेको संख्या पनि बढ्दो छ । 

नेपालको कानुन अनुसार मुख्य राजमार्गमा सञ्चालन हुने ढिलो गतिका सार्वजनिक सवारीसाधनले सर्भिस लेन प्रयोग गर्नुपर्ने प्रावधान छ । तर, ट्राफिक नियमको कार्यान्वयन कमजोर हुँदा यस्ता सवारीहरू मनपरी सञ्चालन भइरहेका हुन्छन् । यसको प्रत्यक्ष असर ट्राफिक अवरोध मात्र नभई दुर्घटनामा समेत परेको हो । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता तथा डीएसपी सन्तोष श्रेष्ठका अनुसार सीटी सफारीले सर्भिस लेनको प्रयोग नगर्नु, बिना लाइसेन्स तथा दर्ता बिना नै सञ्चालन गर्नु, क्षमताभन्दा बढी यात्रु चढाउनुजस्ता क्रियाकलापहरूले सडकमा झनै जोखिम थपिएको छ ।

पछिल्लो समय तीव्र बनाइएको चेकिङ अभियानका क्रममा सयौँ सवारी साधनलाई कारबाही गरिएको उनले बताए । 

तथापि, कारबाही गरेर मात्रै समस्या समाधान हुँदैन भन्नेमा ट्राफिक प्रहरी जानकार छन् । यसका लागि कानुन कार्यान्वयन, चालकको चेतना र प्रशासनिक समन्वय एकैसाथ आवश्यक पर्ने प्रहरीको भनाई छ । 

इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा सीटी सफारी दुर्घटनामा उल्लेख्य वृद्धि भएको छ । ‘साधारण ट्राफिक नियमसमेत पालना नगर्ने प्रवृत्तिका कारण दुर्घटनाको दर ह्वात्तै बढेको हो ।’ उनले भने । 

कोशी प्रदेशकै तथ्यांकलाई हेर्ने हो भने पनि अवस्था झनै गम्भीर देखाउँछ । आर्थिक वर्ष २०७९–०८० मा ३ सय २५ सीटी सफारी दुर्घटनामा २२ जनाको मृत्यु भयो भने ४० जना गम्भीर र ५ सय ५८ जना सामान्य घाइते भए । आर्थिक वर्ष २०८०–०८१ मा दुर्घटना संख्या ३ सय ५५ पुगेको थियो । जसमा १७ जनाको मृत्यु र ६ सय भन्दा बढी घाइते भएका थिए । 

वर्ष २०८१–०८२ मा ५ सय ६२ वटा सीटी सफारी दुर्घटनामा परे । जसमा १५ जनाले ज्यान गुमाएका छन् भने ४७ जना गम्भीर र ९ सय ३७ जना सामान्य घाइते भएका छन् । ३ वर्षमा १ हजार २ सय ४२ वटा दुर्घटनामा परेर ५४ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यति मात्र होइन, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । २०८१–०८२ मा मात्रै १४ हजार ४ सय २९ वटा सीटी सफारीलाई ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाही गरिएको डीएसपी श्रेष्ठले बताए । ट्राफिक प्रहरीले कारबाही तीव्र पारे पनि सफारीले नियमको पालना गर्दैनन् । जसले गर्दा दुर्घटना न्यूनीकरण पनि भइरहेको छैन । 

यता, प्रदेश सरकारको तर्फबाट सीटी सफारी व्यवस्थापनमा आएको नयाँ निर्णयले समस्या झनै जटिल बनाएको छ । प्रदेश सरकारले सवारी दर्ता, नवीकरण र नियमनको अधिकार स्थानीय तहबाट हटाएर प्रदेश यातायात कार्यालयअन्तर्गत ल्यायो । यो परिवर्तनसँगै व्यवस्थापन अन्योलमा परेको व्यवसायीहरू बताउँछन् । 

स्थानीय तह, प्रदेश सरकार, ट्राफिक प्रहरी र व्यवसायीहरूबिच आवश्यक समन्वयको अभावले गर्दा समस्या झनै पेचिलो बन्दै गएको छ । सर्भिस लेनको प्रयोगबारे कडाइ, ट्राफिक नियमबारे सचेतनामूलक कार्यक्रम, अवैध सवारीको पहिचान र कारबाही तथा व्यवस्थापनको स्पष्ट ढाँचा निर्माण नगरेसम्म सडक दुर्घटना कम हुने सम्भावना न्यून रहेको सरोकारवाला बताउँछन् । 

सरोकारवालाहरूको भनाइमा अब सीटी सफारी दुर्घटना नियन्त्रण गर्न चेकिङ अभियान र जरिबाना पर्याप्त छैन । यो समस्याको समाधानका लागि कानुनी व्यवस्थाका साथै सवारी चलाउनेहरूमाझ चेतना विस्तार, प्रशासनिक स्थायित्व र जिम्मेवार संयन्त्र निर्माण अनिवार्य भएको उनीहरू बताउँछन् । नत्र, दिनहुँ जसो ज्यान जोखिममा राखेर इटहरीका सडकमा यात्रा गर्न बाध्य हुने नागरिकले अझै धेरै क्षति व्यहोर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

यातायात व्यवस्था कार्यालय कोशीका प्रमुख बाबुराम लुइँटेलका अनुसार पछिल्लो समय तीन पाङ्ग्रे इ रिक्सा सञ्चालनका लागि नियम कडा बनाउँदै लगिएको छ ।

उनले दर्ता गर्ने क्रममा बिमा, सवारी चालकको लाइसेन्स सम्मको व्यवस्थामा कडा बनाउँदै लगेको दाबी गरे । 

कोशी प्रदेशका  इटहरी, विराटनगर, बिर्तामोड र उदयपुर जिल्लामा रहेका यातायातका कार्यालय मार्फत झन्डै ४० हजारको हाराहारीमा सिटि सफारी दर्ता भएर सञ्चालित छन् । इटहरीको यातायात कार्यालयमा मात्रै हाल सम्म १३ हजार ४ सय ९९ सिटि सफारी दर्ता भएको अभिलेख रहेको छ ।
 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार