भारतको जम्मू–कश्मीरमा वैष्णो देवी जाने बाटोमा पहिरो, ३२ भक्तजनको मृत्यु

बुधबार, ११ भदौ २०८२

काठमाडौं : भारतको जम्मू–कश्मीरको रियासी जिल्लामा रहेको प्रसिद्ध माता वैष्णो देवी मन्दिर जाने बाटोमा पहिरो जाँदा कम्तीमा ३२ भक्तजनको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो अर्धकुँवारी गुफा मन्दिर नजिकै रहेको इन्द्रप्रस्थ भोजनालय छेउमा पहिरो गएको हो। त्रिकुटा पहाडको मार्गको ठूलो भाग भग्नावशेषले ढाकिएको छ। भग्नावशेषमुनि अझै कैयौं मानिसहरू दबिएको आशंका गरिएको छ।

सेना, प्रशासन र उद्धार टोलीले हाल राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको बताइएको छ। निरन्तर वर्षाका कारण जम्मू–कश्मीरका विभिन्न स्थानमा बाढी र पहिरोको अवस्था सिर्जना भएको छ।

जम्मूमा ओभरब्रिज भत्किनुका साथै विद्युत् तार र मोबाइल टावरमा क्षति पुगेको छ। तीनवटा पुल क्षतिग्रस्त भएका छन्। अविरल वर्षाले जम्मू डिभिजनका प्रमुख नदीहरू खतराको सतहभन्दा माथि बगिरहेका छन् भने सयौं प्रभावित स्थानीयहरू सुरक्षित स्थानमा सारिएका छन्।

जम्मू–श्रीनगर राजमार्ग पनि रामबन नजिकैका करिब १२ स्थानमा पहिरोका कारण बन्द भएको छ। त्यस्तै, चक्की पुलमा आएको बाढी जस्तै अवस्थाका कारण जम्मू, उधमपुर र कटरा जाने १८ वटा रेल सेवा रद्द गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार