काठमाडौंकै सडक असुरक्षित : दैनिक १० जनाले गुमाउँछन् ज्यान

शनिबार, ०३ साउन २०८२

काठमाडौं : नेपालमा दैनिक सवारी दुर्घटना भइरहेको हुन्छ । जसमा परेर दैनिक १० जनासम्मले ज्यान गुमाइरहेका छन् । यो झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर प्रहरीको तथ्याङ्कले यही देखाउँछ । 

प्रहरी महानिरीक्षक दीपक थापाकाअनुसार सवारी दुर्घटनाको संख्या बढ्दो छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनाको संख्या र ज्यान गुमाउनेको संख्या दुवै बढेको छ । 

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोवल बढाउन पछिल्लो समयमा भएका प्रयासहरु’बारे छलफल थियो । जहाँ सवारी दुर्घटनाको विवरण प्रस्तुत गर्दै प्रहरी महानिरीक्षक थापाले सवारी दुर्घटनाको भयावह अवस्थाको चित्रण गरेका हुन् । 

संसदीय समितिमा प्रस्तुत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ को भन्दा आर्थिक वर्ष २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले सवारी दुर्घटना सम्बन्धी कसुरको मात्रा बढेको छ । 

आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्ममा सवारी दुर्घटनासँगसम्बन्धी देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन् । 

महानिरीक्षक थापाकाअनुसार सुरक्षाका निम्ति प्रहरी जनशक्ति खटिएका छन् । तथापि, सवारी दुर्घटना बढ्दो छ । 

एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती गर्ने गरेको छ । चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १० ठाउँमा हुँदै आएको छ । ग्रामिण गस्ती ७ सय १२ ठाउँमा हुन्छ । उनकाअनुसार २४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा खटिने गरेका छन् । 

एक वर्षमा २५ सय बढीको मृत्यु

प्रहरी महानिरीक्षक थापा आफैँ सवारी दुर्घटनाको स्थिति भयावह रहेको बताउँछन् । उनी भन्छन्, ‘सवारी दुर्घटनामा परेर सरदर दैनिक ७ देखि १० जनासम्मको मृत्यु हुने गरेको देखिन्छ ।’ 

उनकाअनुसार एक आर्थिक वर्षमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यालाई ३६५ ले भाग गर्दा सरदर दैनिक ७ देखि १० जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क आएको हो । 

प्रहरीको तथ्याङ्कले आर्थिक वर्ष २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना भएको देखाउँछ । जसमा परेर २ हजार ५४९ जनाको मृत्यु भएको छ । 

अघिल्लो वर्षको असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो । पछिल्लो वर्षको असार मसान्तसम्म ५९ हजार २ सय ४ घटना दर्ता भएको थियो । 

यो अघिल्लो वर्षको भन्दा झन्डै १.२४ प्रतिशतले बढी हो । 

काठमाडौंकै सडक असुरक्षित 

तुलनात्मक रुपमा काठमाडौं उपत्यकाको सडक फराकिलो र केही हदसम्म व्यवस्थित देखिन्छ । तर, सवारी दुर्घटनाको तथ्याङ्कले काठमाडौं उपत्यकाकै सडक असुरक्षित रहेको देखाउँछ । 

प्रहरीमा सवारी दुर्घटनासँग सम्बन्धित मुद्दा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा दर्ता भएका छन् । 

प्रहरीमा सवारी दुर्घटनासँग सम्बन्धित दर्ता भएका कूल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १७२ छ । काठमाडौं उपत्यकापछि मधेस प्रदेशमा सवारी दुर्घटनाको अवस्था डरलाग्दो छ । मधेस प्रदेश पछि कोशी प्रदेशमा सवारी दुर्घटना ज्यादा छन् । 

सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकाकै रहेको तथ्याङ्कले देखाउँछ । एक आर्थिक वर्षमा देशभर भएको सवारी दुर्घटनासँग सम्बन्धित कूल ५९ हजार २०४ मुद्दामध्ये १६ हजार १७२ मुद्दा काठमाडौं उपत्यकाकै छन् । त्यसपछि मधेस प्रदेश र कोशी प्रदेशमा बढी छन् । कर्णाली प्रदेशमा कम छन् ।

आजको मध्यान्न् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार