विराटनगर : कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्यसँगै पशुपंक्षी र वातावरणीय स्वास्थ्य संरक्षणका लागि सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।
स्वास्थ्य सेवा विभागको आयोजनामा विराटनगरमा बुधबार सम्पन्न प्रदेशस्तरीय ‘एक स्वास्थ्य समिति’ स्थापनासम्बन्धी कार्यशाला तथा रणनीति परिमार्जन छलफल कार्यक्रममा बोल्दै मन्त्री राईले यसका लागि प्रदेश सरकारले आवश्यक समन्वय र सहकार्य गर्न तत्पर रहेको स्पष्ट पारेका हुन् ।
कार्यशालामा ‘एक स्वास्थ्य’ अवधारणाअन्तर्गत प्रदेशमा मानव, पशुपंक्षी तथा वातावरणीय स्वास्थ्य सँगसँगै सम्बद्र्धन गर्न ‘एक स्वास्थ्य निर्देशक समिति’ र ‘एक स्वास्थ्य प्राविधिक समिति’ गठन सम्बन्धी संरचना र रणनीतिबारे विस्तृत छलफल भएको थियो ।
कार्यशालामा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम, स्वास्थ्य तथा कृषि मन्त्रालयका सचिवहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू तथा विज्ञहरूको उपस्थिति रहेको थियो ।
सहभागीहरूले महामारीको जोखिम न्यूनिकरण, संक्रमण नियन्त्रण, जैविक विविधता संरक्षण, तथा स्वच्छ वातावरण निर्माणका लागि एकीकृत दृष्टिकोणको आवश्यकता औंल्याएका थिए ।
प्रतिक्रिया