काठमाडौं : नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले धरौटी दाखिला गरेपछि मोरङ जिल्ला अदालतले उनलाई पक्राउ नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पत्र पठाएको छ।
व्यापारिक लेनदेनसम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार पन्थीले बुधबार धरौटी बुझाएका थिए। सोही मुद्दामा रहेका गौतमबुद्ध हाइड्रोपावर प्रा.लि.का सञ्चालक देवराज खनालले पनि धरौटी बुझाएका छन्।
बुधबार अदालतको नाममा जारी पत्रमा भनिएको छ, "वादी श्याम राठी र प्रतिवादी गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. बीचको व्यापारिक लेनदेनसम्बन्धी मुद्दामा मिति २०८१/१/३१ को फैसलाअनुसार वादीले पाउने गरी ठहर भएको बिगो रकम प्रतिवादीले धरौटीमा दाखिला गरिसकेकाले पक्राउ पुर्जी कार्यान्वयन नगर्नु, नगराउनु हुन अनुरोध छ।"
मोरङ जिल्ला अदालतको आदेशअनुसार बिगो रकम धरौटीमा दाखिला भइसकेकाले अब दुवै प्रतिवादीलाई पक्राउ नगर्न आग्रह गर्दै अदालतले प्रहरीलाई औपचारिक पत्राचार गरेको हो।
प्रतिक्रिया