पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडाको जंगलमा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा फिदिम नगरपालिका ९ का २० वर्षीय सुन्दर सारु मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार मगर वैशाख ३१ गते राति ३३ वर्षीय छिमेकी मनबहादुर सम्बाहाम्फेसँग जंगल गएका थिए। रातको समयमा जंगलमै भरुवा बन्दुक पड्किएर उनको पेटमा चोट लागेको थियो।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी नवमीडाँडाबाट खटिएको टोलीले घाइते मगरलाई उद्धार गरी पाँचथर अस्पताल ल्याएको थियो। तर, अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
घटनास्थलबाट पक्राउ परेका मनबहादुर सम्बाहाम्फेको साथबाट भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ।
मृतकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ।
प्रतिक्रिया