विराटनगरबाट आईजीपी थापाको निर्देशन, ‘शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनु’

विहीबार, ०१ जेठ २०८२

विराटनगर : प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन कोशी प्रदेशका विभिन्न प्रहरी युनिटका प्रमुखहरुलाई निर्देशन दिएका छन् । 

विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भएका आईजीपी थापाले कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीसहित जिल्ला प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षाको अवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

गोष्ठी सम्पन्न भएलगत्तै थापाले गोष्ठीमा उपस्थित प्रदेश प्रहरी प्रमुख डीआईजी कार्कीसहित कोशीका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई नेपाल प्रहरीको कार्यसम्पादन सम्झौता बमोजिम शान्ति सुव्यवस्था कायम गर्न र अपराध अनुसन्धान एवं नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार पारेर अघि बढ्न निर्देशन दिए । 

सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्यका साथ आमनागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालन गर्नुपर्नेमा उनको जोड छ । आईजीपी थापाले लागुऔषधको प्रयोग तथा ओसारपसार, तस्करी एवं गुण्डागर्दी, राजस्व चुहावटलगायतका गतिविधि नियन्त्रण गर्न निर्देशन दिए । 

त्यस्तै, सीमा नाकामा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएर अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन,  फैसला कार्यान्वयन, गुनासो व्यवस्थापन, नागरिक केन्द्रित सेवा प्रवाह, विपद उद्दारलगायतका कार्यमा सक्रियता बढाउनुपर्ने उनले बताए । 

 निर्देशन सम्बोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपीहरु भीमबहादुर दाहाल, गोविन्द अधिकारीसहित विभिन्न जिल्ला एवं युनिटका प्रहरी प्रमुखहरु उपस्थित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार