स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने

सोमबार, ३० असार २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् ।

सोमबार त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आयोजित समारोहमा उनले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै औचित्य पुष्टि हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए । 

उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे । 

प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वाेत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा पनि जोड दिएका छन् ।
ओलीले आफूले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए । 

उनले भने, ‘मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन् । अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ । त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरुको दायित्व हो । नर्सहरुको हातमा जादु हुन्छ । बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन् । ठिक औषधि, ठिक मात्रामा र ठिक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने  र स्याहार सुसार गर्ने काम नर्सहरुको हो ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी  र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका थिए । अस्पतालको वार्षिकोत्सवका अवसरमा नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार