बिर्तामोड नगर अस्पतालमा सेवाप्रति विश्वास बढ्दै, दैनिक ५ सयसम्म बिरामी

बुधबार, ०७ जेठ २०८२

झापा : बिर्तामोड नगरवासीहरूमा एक समयसम्म सरकारी स्वास्थ्य संस्थाप्रति विश्वासको अभाव देखिए पनि अहिले बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ।

सुविधा सम्पन्न भवन र गुणस्तरीय सेवा उपलब्ध गराउन थालेपछि दैनिक ४ सयदेखि ५ सय जनासम्म बिरामी सेवा लिन आउने गरेका छन्।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंका अनुसार नगर अस्पताल चौबीसै घण्टा सेवा सञ्चालन गर्ने तयारीमा छ, यद्यपि नयाँ भवन निर्माणमा ढिलाइ हुँदा केही समस्या भइरहेको छ। हालको १५ शैय्याको अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गर्ने योजना पनि अघि बढाइएको छ। नगरले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिएको जनाइएको छ।

उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाका अनुसार अस्पतालमा छिट्टै डायलाइसिस सेवा पनि सुरु गरिनेछ, जसका लागि ६ वटा मेसिन दाताबाट प्राप्त भइसकेका छन्। यसैगरी, नगरपालिकाका आठ वडामा सञ्चालन भइरहेका आधारभूत स्वास्थ्य केन्द्रहरूबाट एक सय २७ प्रकारका औषधिहरू निःशुल्क वितरण हुँदै आएका छन्।

नगरका स्वास्थ्य संस्थाबाट हालसम्म ८९ हजार ७६४ जनाले सेवा लिइसकेका छन्। साथै, घरमै सुत्केरी गराउने दर ‘शून्य’मा झरेको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जनाएका छन्। नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा उपलब्ध छ भने ६० जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत छन्।

कुल रु १५ करोड ३४ हजारको लागतमा अस्पतालको नयाँ भवन निर्माण भइरहेकाले सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार