अदम्य साहस र संघर्षले सफल बनेका व्यवसायी

सोमबार, ०४ बैशाख २०८०

   पवन अधिकारी

काठमाडौं /कुनै पनि क्षेत्रमा सफल हुन कडा मेहनत गरेर मात्र पुग्दैन । यसका लागि धैर्य, लगाव, इमान्दारीसँगै निरन्तरता मुख्य आधार मानिन्छ । सफल बनेका विभिन्न क्षेत्रका व्यक्तिहरुको कथा सुन्दा, पढ्दा यो सत्य साबित हुन्छ । यस्तै कथाका एकजना अनुकरणीय पात्र हुन्– शिवप्रसाद घिमिरे । किशोरावस्थामै कडा संघर्षसँग साक्षात्कार गरेका उनले कहिल्यै हार खाएनन् । धेरै अप्ठ्यारा मोडहरु आए तर निरास भएनन् । अनेक व्यवधानहरु सामने आउँदा पनि हरेस खाएनन् । उधारोमा सामान लिएर १३ वर्षको कलिलो उमेरमै किराना पसल खोलेका उनी अहिले देशभरमै गनिने, चुनिने व्यवसायीका रुपमा स्थापित बनेका छन् । २०२० जेठ १९ गते बुबा गोविन्दप्रसाद घिमिरे र आमा खेमकुमारी घिमिरेको कोखबाट ललितपुरको गोटिखेल गाविसमा जन्मिएका उनको यसबीचको कथा कम्ती संघर्षपूर्ण छैन । त्यही संघर्षबाट खारिएर उनी अहिले सफल व्यवसायीका रुपमा दरिएका हुन् । ललितपुरमा जन्मिए तर उनको बाल्यकाल मकवानपुरको हेटौँडामा बित्यो । हेटौँडाको भैँसे गाबिसमा ७ कक्षासम्म अध्ययन गरेका उनी नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न निर्वाचनमाबाट केन्द्रीय सदस्य बनेका छन् । ‘त्यसबेला काले साहुको होलसेल पसल थियो, त्यही पसलबाट उधारो सामान किनेर किराना पसल सुरु गरेँ,’ उनले चार दशक अघिको प्रसंग सम्झिए, ‘सानै मान्छे यति ठूलो आँट गर्ने भनेर गाउँलेहरुले पनि प्रशंसा गरे, त्यसले मलाई प्रोत्साहन भयो ।’ किराना पसल सुरु गरेको एक दशकमै उनले भैँसेमा डिपार्टमेन्टल पसल सुरु गरे । त्यसबेला कृषिकर्म गर्नेहरु प्रशस्तै थिए । त्यही कारणले उनले डोको, नाम्लो, दाम्लोदेखि किरानाका अन्य सामान आफ्नो डिपार्टमेन्टल स्टोरमा राखेका थिए । सँगै कपडा पसल समेत सुरु गरेका घिमिरेले खाद्यान्न पनि बेच्न थाले । आफूलाई व्यापारिक जीवनमा अगाडि बढाएसँगै घिमिरेको पढाइमा भने पूर्णविराम लाग्यो । तर, उनको व्यापारिक जीवनले लय लिँदै गयो । फलस्वरुप उनी आज आर्थिक रुपले सम्पन्न मात्र होइन प्रतिष्ठित व्यवसायीका रुपमा स्थापित छन् । सामान आयात–निर्यातका लागि आवश्यक परेकाले तीन लाख ७० हजारमा उनले ट्रक किने । त्यो ट्रक भाडामा समेत लगाएको स्मरण गर्दै घिमिरे भन्छन्, ‘सामान ओसारपसार गर्न कहिलेकाहीँ आफैँ पनि भारत पुग्नुपथ्र्यो, कर्णालीमा पुल थिएन, निकै सकस हुन्थ्यो ।’ व्यापार सानो, ठूलो नभनीकन सामान्य काम समेत गरेको उनी स्मरण गर्छन् । ‘मैले आफैंँ खटिएर गाउँ–गाउँमा उत्पादित कोदो बजारसम्म पुर्याएँ’ उनी भन्छन्, ‘यसले गर्दा गाउँ, सहरमा सबैले प्रशंसा गरे, मेरो व्यवसायको लोकप्रियता बढ्दै गयो ।’ त्यसबीच उनी संयोगले राजनीतितिर पनि लागे । २०४८ सालमा भएको स्थानीय निकायको निर्वाचनमा सूर्यबहादुर थापाले तत्कालीन गाउँ विकास समितिको अध्यक्षका लागि टिकट दिए । उनको लोकप्रियताका कारण राप्रपाबाट गाबिस अध्यक्ष विजय प्राप्त भयो । पछि सांसदको पनि टिकट दिइयो । तर, उनले आफू राजनीतिभन्दा पनि व्यापार व्यवसायमै लाग्ने निधो गरेका थिए । २०५० सालमा उनले स्यार्सेकाली पेट्रोलपम्प सुरु गरे । तीन दशकअघि खुलेको उक्त पेट्रोलपम्प अहिले पूर्वपश्चिम राजमार्गमा यात्रा गर्नेहरूका लागि प्रतिष्ठित छ । इटहरीभन्दा केही पश्चिममा उक्त पम्प अवस्थित छ । त्यसबेला एउटा पेट्रोलपम्प सुरु गर्न निकै सकस हुन्थ्यो । अहिले भने देशभर ४४ वटा पेट्रोलपम्प सञ्चालनमा रहेको घिमिरेले बताए । उनका अनुसार केही पेट्रोलपम्पमा साझेदारी समेत छ । ‘इटहरीमा बिलकुल नयाँ थिएँ, त्यसबेला कसैसँग चिनजान पनि थिएन,’ उनले भने, ‘बिस्तारै काम गर्दै गएँ, व्यवसाय विस्तार हुँदै गयो, मैले निरन्तर परिश्रम गरेँ, हिम्मतका साथ नयाँ व्यवसायमा पनि सक्रिय भएँ, त्यसैले यो अवस्थामा आइपुगेँ ।’ घिमिरेका अहिले सातवटै प्रदेशमा ग्यास उद्योग सञ्चालनमा छन् । काठमाडौँमा एभरेष्ट, धादिङमा सुगम, कैलालीमा साइपाल, भैरहवामा त्रिशुल, हेटौँडामा सहारा, सुनसरीमा कामख्या र प्रिमालगायत उद्योग सञ्चालनमा छन् । एसजी ग्रुपमार्फत अहिले उनका देशभर ७१ वटा कम्पनी सञ्चालनमा छन् । दुई सयभन्दा बढी ढुवानी गाडी सञ्चालनमा छन् । देशभर तीन हजार जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको सुनाउँदा उनको मुहारमा खुुुसीको झल्को देखिन्थ्यो । संखुवासभा, बझाङसहितका जिल्लामा तीनवटा हाइड्रो पावरमा लगानी गरेका उनले भने, ‘कृषि, शिक्षा, सञ्चार क्षेत्रमा पनि लगानी गरेको छु, विगतमा कतिपय दिनमा भोकै पनि बसियो, कति रात अनिँदै पनि बसियो, अहिले आफ्नो विगत सम्झँदा कथाजस्तै लाग्छ ।’ पारिवारिक जीवन २०४२ सालमा गीता पाठकसँग विवाह गरेका उनका एक छोरी, दुई छोरा छन् । छोरी सुजिा, छोराहरू सुदीप र सुगम व्यवसायमै आवद्ध छन् । सुदीपले फाइनान्सदेखि ग्यास कम्पनी सम्हालिरहेका छन् । सुगमले मोटरहेड बाइक सोरुम सञ्चालन गरिरहेका छन् । ‘छोराहरू बुहारीको साथले पनि व्यापारिक बाटोमा लम्किरहेका छन्,’ घिमिरे भन्छन्, ‘परिवारको ठूलो साथ र सहयोगले गर्दा नै व्यवसायमा निरन्तर रुझ्न सहज भयो ।’ ‘व्यवसायीको हितमा काम गर्छु’ उनी हालै भएको उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आफू केन्द्रीय सदस्यमा निर्वाचित भएपछि घिमिरेले अहिले मुलुकमा देखापरेको आर्थिक मन्दीको समस्या समाधान गर्न काम गर्ने बताए । आर्थिक मन्दीका कारण व्यापारीमा समेत निकै असर गरेकाले सरकारसँग बसेर यसको निकास निकाल्नका निम्ति आफ्नो भूमिका रहने उनले बताए । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघमा नेतृत्व गरिसकेका उनी नेपाल कत्था उद्योग संघको अध्यक्ष छन् । यीसँगै अन्य दर्जनभन्दा बढी संघ, संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका घिमिरे अहिले व्यापारीको नेता भएसँगै आफूले व्यापारीकै हितमा काम गर्ने अठोट गरेको बताउँछन् । ‘व्यवसायीका लागि राज्य गम्भीर भएको छैन । व्यवसायिक क्षेत्र आजसम्म जेनतेन आफैँ चलेको छ,’ घिमिरे भन्छन्, ‘अब पशुपतिनाथको भरोसामा व्यापार क्षेत्र चल्दैन । निजी क्षेत्रको समस्या तत्काल बुझेर एफएनसिसिआईले हकहितका लागि लाग्नुपर्छ, त्यसका लागि मेरो भूमिका पनि महत्वपूर्ण हुन्छ ।’ नेपालमै लगानी गरेर व्यापार व्यावसाय गर्छु भन्नेलाई लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने उनको तर्क छ । कृषि, निर्माण, पेट्रोलियम, पर्यटन, शिक्षा, सञ्चारजस्ता दर्जनौँ क्षेत्रमा लगानी गरिरहेका उनको सफलताको एउटै मन्त्र छ– संघर्षसहितको हिम्मत, निरन्तर मेहनत अनि धैर्य । भन्छन्, ‘यति कुरालाई मूल मन्त्र बनाएर अघि बढे सफलतासम्म पुग्ने बाटो उति कठिन छैन ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार