इजरायल : दोस्रो विश्वयुद्धको समयको कथा डायरीमा लेख्ने एन फ्र्यांकको पीडा अहिले गाजामा दोहोरिएको छ।
७ अक्टोबर २०२३ देखि सुरु भएको इजरायल–हमास युद्धमा १७ हजारभन्दा धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन्। युनिसेफ, ओचा र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार झन्डै ७१ हजार बालबालिका गम्भीर कुपोषणको शिकार भएका छन् भने १४ हजारभन्दा बढी तत्काल मृत्युको जोखिममा छन्।
गाजाको झन्डै १० लाख बालबालिका विस्थापित भएका छन्। उनीहरू मध्ये धेरैजसोले मानसिक तनाव, हिंसा, भोकमरी र रोगको मार खेपिरहेका छन्। पोषणयुक्त खाना, सफा पानी, औषधि र स्वास्थ्य सेवाको पहुँच गुमाएका बालबालिकाले जीवनरक्षा गर्न आवश्यक आधारभूत सुविधा समेत पाएका छैनन्।
एन फ्र्यांकले डायरीमा व्यक्त गरेको डर र पीडालाई स्मरण गराउने गरी गाजाका बालबालिकाको कथा पनि दुःखद छ।
यस्मिन नामकी महिलाको भनाइ अनुसार प्लास्टिकको झोलामा बच्चा राखेर नुहाउनु पर्ने, बच्चाले हाँस्न, खेल्न र दूध खान बन्द गरिसकेको अवस्था छ। मार्च २ देखि सुरु भएको इजरायली नाकाबन्दीका कारण भोकमरीका कारण मात्र ५७ बालबालिकाको मृत्यु भइसकेको छ।
इतिहासले देखाएको छ, युद्धका सबैभन्दा असहाय सिकार सधैं बालबालिका नै हुन्छन् — चाहे त्यो सन् १९९४ को रुवान्डा होस्, २०११ को सिरिया, २०१५ को यमन वा अहिलेको गाजा। युद्धमा केवल गोलीले मात्रै हैन, भोक, रोग, कुपोषण र विस्थापनले बालबालिकाको भविष्य समाप्त पारिरहेको छ।
पोप फ्रान्सिस, बर्नी स्यान्डर्स, अलेक्जेन्ड्रिया ओकासियो–कर्टेजलगायतका अन्तर्राष्ट्रिय नेताहरूले गाजामा बालबालिकाको अवस्था प्रति चिन्ता व्यक्त गरेका छन्। बेलायतले इजरायलसँगको व्यापार वार्ता स्थगन गरेको छ। इजरायलको युद्ध रणनीति र मानवीय सहायता रोक्ने कार्यको व्यापक विरोध भइरहेको छ।
युद्धकै बीचमा पनि एन फ्र्यांकले विश्वास व्यक्त गरेझैं, अझै पनि मानिसको हृदय असल हुनसक्छ भन्ने आशा छ।
प्रतिक्रिया