खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति हुने, सेवाग्राही उत्साहित

मंगलबार, १३ जेठ २०८२

खोटाङ : कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेसँगै स्थानीयवासी उत्साहित भएका छन्। सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले हाल १५ शय्यामा सञ्चालित अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो।

विसं २०४९ वैशाख १ गतेदेखि सञ्चालनमा रहेको अस्पतालको क्षमता बढाउन गत वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुभएको थियो। स्वास्थ्यमन्त्रीसमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री राईका अनुसार, नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगेपछि प्रस्ताव मन्त्रीस्तरीय बैठकबाट पारित भई मन्त्रिपरिषद्मा पुगेको हो।

अस्पताल स्तरोन्नति भएसँगै ११औँ तहका विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम भएको छ। यसअघि आठौँ तहका चिकित्सकसहित ३० जना मात्र स्वास्थ्यकर्मी कार्यरत थिए।

स्वास्थ्यमन्त्री राईका अनुसार, अब खोटाङवासीले उपचार नपाएर अकालमा मृत्यु बेहोर्नु नपर्ने अवस्था आउनेछ। जिल्लाका दशवटा स्थानीय तहका नागरिकलाई अब सुलभ रूपमा विशेषज्ञ सेवा प्रदान गर्न सकिनेछ।

चार वर्षअघि संघीय सरकारले देशभरका जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरे पनि दरबन्दी स्वीकृत गर्ने प्रक्रिया अधुरै थियो। अब आएर कोशी प्रदेश सरकारले उक्त निर्णय कार्यान्वयन गर्न थालेको हो।

अस्पताल भवन निर्माणको जिम्मा श्यामसुन्दरररामसागररनेपाल फूलबारी जेभीले पाएको हो। ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमार्फत २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो। 

२०७८ असार २४ गते ठेक्का सम्झौता भएअनुसार ३० महिनामा काम सम्पन्न गरिसक्नु पर्ने थियो, तर म्याद थपिए पनि समयमै काम सकिएको छैन। अब असार मसान्तसम्मका लागि पुनः म्याद थप गरिएको छ।

निर्णय कार्यान्वयन भएसँगै अब खोटाङ जिल्ला अस्पतालमा सबै प्रकारका उपचार सेवा सहज रूपमा उपलब्ध हुने आशा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार