काठमाडौं । तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक बालिका डुबेर बेपत्ता भएकी छन्। ठिमुरा निवासी ११ वर्षीया सृष्टि गुरुङ्ग बिहीबार साँझ पौडी खेल्ने क्रममा त्रिशुलीमा बेपत्ता भएकी हुन्।
घटनापछि बिहीबार साँझ ६ बजेतिरदेखि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। शुक्रबार बिहान ११ बजेदेखि औपचारिक रूपमा खोजी कार्य चलिरहेको सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गण चितवनका सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोले जानकारी दिए।
नदीको बहाव तीव्र र पानी धमिलो भएकाले खोजीमा कठिनाइ भइरहेको भए पनि टोली सक्रिय रूपमा उद्दार कार्यमा खटिएको उनले बताए। स्थानीय बासिन्दा र नेपाल प्रहरी पनि खोजीमा सहयोग गरिरहेका छन्।
गर्मीको समयमा नदी किनारमा पौडी खेल्न गएका बालबालिकालाई विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया