जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्ने भएका छन्। मधेश प्रदेश सरकारको पहलमा आइतबार (भोलि) हुने दोस्रो चरणको शिलान्यास कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले आठवटै जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये प्रत्येकमा पाँच–पाँच किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण हुने जानकारी दिएको छ। कुल ३२० किलोमिटर लम्बाइको उक्त सडक निर्माणमा १२ अर्ब ७० करोड रुपैयाँ लागत लाग्नेछ।
शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रबाट डिजिटल प्रविधिमार्फत आयोजना गरिनेछ। प्रधानमन्त्री ओलीले भोलि दिउँसो १ बजे औपचारिक रूपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले जानकारी दिए।
मन्त्री यादवका अनुसार तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिनेछ। सडक निर्माणका लागि स्रोत सुनिश्चित भइसकेको र ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयमार्फत अघि बढिसकेको उनले बताए।
मन्त्रालयका निमित्त सचिव संजय कुमार साहका अनुसार पहिलो चरणअन्तर्गतको योजनामा ३२० किलोमिटर सडक निर्माण अघि बढाइएकोमा हालसम्म करिब २०० किलोमिटर सडक निर्माण भइसकेको छ।
नयाँ सडकहरू गाउँ क्षेत्रका लागि उपयुक्त प्रविधिमा निर्माण गरिनेछ भने गाउँबाहिरको सडकमा स्फाल्ट प्रविधिबाट कालोपत्रे गरिने मन्त्रालयले जनाएको छ। सडकहरूको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म हुने जानकारी पनि दिइएको छ।
सडक निर्माणसँगै आठै जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक/एक वटा पक्की पुल निर्माणको प्रक्रिया पनि अगाडि बढाइएको छ। जलवायु परिवर्तनका प्रभावलाई ध्यानमा राखेर निर्माण कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यस योजनामार्फत मधेश प्रदेशमा आधारभूत भौतिक संरचनाको सुदृढीकरणसँगै स्थानीय विकास र समृद्धिको मार्गचित्र कोर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया