विराटनगर : विराटनगर कोशी प्रदेशको राजधानी संगै प्रदेशको एउटा मात्रै महानगरपालिका पनि हो । २०७९ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मोरङका उपसभापति समेत रहेका नागेश कोइराला विराटनगरको मेयरमा निर्वाचित भए ।
कोइराला नेकपा (एमाले)का सागर थापालाई पछाडि पार्दै निर्वाचित भएका हुन् । कोइरालाले आफ्नो ५ वर्षे कार्यकालमा ३ वर्ष व्यतित गरिसकेका छन् । ३ वर्षमा उनले महानगरमा गरेका काम, चुनौती, आलोचना र अवसरलाई यस सामग्रीमा समेट्ने प्रयास गरिएको छ ।
क्रान्तिको केन्द्रबाट विकासको यात्रा
नेपालको राजनीतिक र आर्थिक इतिहासमा अत्यन्त महत्वपूर्ण स्थानमा रहँदै आएको छ विराटनगर । विशेषतः २००७ सालको ऐतिहासिक क्रान्तिको जग यही बसेको थियो, जहाँ वि.सं. १९९३ मा स्थापित विराटनगर जुट मिलको मजदुर आन्दोलनले राणा शासनविरुद्धको क्रान्तिलाई ऊर्जा दिएको थियो ।
राजनीतिक रूपान्तरणका दृष्टिले विराटनगरले प्रधानमन्त्रीदेखि अनेकौं राष्ट्रियस्तरका नेताहरू जन्माएको छ । तर, देशको सत्ता र नेतृत्वमा पटक–पटक प्रतिनिधित्व गरे पनि, विराटनगरले आफू अनुकूल भौतिक विकासको गति लिन नसकेको विश्लेषकहरू बताउँछन् ।
हाल ७७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगर महानगरपालिकामा १९ वटा वडा छन् । नगरपालिकाबाट उपमहानगर हुँदै महानगरसम्मको यात्रापछि, पछिल्ला वर्षहरूमा भने विकासको गतिमा केही गति आएको जनप्रतिनिधिहरूको भनाइ छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, र सरसफाइका क्षेत्रमा सुधार देखिएको उनीहरूको दाबी छ ।
महानगर प्रमुख नागेश कोइरालाका कै अनुसार, सीमित स्रोत र साधनका बाबजुद पनि विराटनगर विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ । ‘घर–घरमा सिंहदरबार’ भन्ने संवैधानिक परिकल्पनालाई व्यवहारमा उतार्ने प्रयास स्थानीय तहले गरिरहेको कोइरालाको भनाइ छ ।
तर चुनौतीहरू पनि उत्तिकै छन् । आन्तरिक आम्दानी कमजोर हुँदा योजना कार्यान्वयनमा कठिनाइ भइरहेको छ । उदाहरणस्वरूप, गत आर्थिक वर्षमा आन्तरिक आयतर्फ ८९ करोड ५० लाख रुपैयाँको लक्ष्य राखिएकोमा ६० करोड ६ लाख रुपैयाँ मात्र संकलन भएको थियो । त्यस्तै, प्रशासनिक खर्च मात्र ५० करोड बढीले विकास निर्माणमा सन्तुलन मिलाउन कठिन बनाइरहेको छ ।
तर, कोइराला भौतिक विकासका साथै मानवीय विकासलाई पनि समान प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् ।
उनले महानगरका असिमित आवस्यक्तालाई ध्यानमाम राखेर काम गरिरहेको उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधारको प्रगति
आर्थिक वर्ष २०७९÷८० देखि हालसम्मको अवधिमा ४६ किलोमिटर सडक कालोपत्रे गरिएको महानगरले जनाएको छ । महानगरले ‘खाल्डाखुल्डीरहित महानगर’ अभियानअन्तर्गत कालोपत्रे सडकमा देखिएका खाल्डा तत्कालै मर्मत गर्ने नीति अपनाएको छ । एक सय भन्दा बढी किलोमिटर सडकमा ग्राभेल, ५३ किलोमिटर नाला, १९८ वटा कल्भर्ट, ११४ किलोमिटर आरसीसी ढलान, र ९५ किलोमिटर रिटेनिङ वालको निर्माण सम्पन्न गरिएको छ ।
यस्तै हाल महानगरका १९ वटै वडामा साना ठूला गरी १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको बहुवर्षिय पूर्वाधार परियोजना सञ्चालनमा रहेका छन् । अधिकांश वडामा १ करोडभन्दा माथिका योजना निर्माणको चरणमा छन् । महानगर प्रमुख कोइरालाका अनुसार, सीमित स्रोत साधनका बाबजुद विकास कार्य समानुपातिक रूपमा अघि बढाइएको छ ।
सडकको सौन्दर्यकरण र ट्राफिक व्यवस्थापन
महानगरपालिकाले बरगाछी–रानी सडकखण्डको सौन्दर्यकरण अभियानलाई तीव्रता दिएको जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा सुरु गरिएको अभियानमा हालसम्म १९ वटा संस्थाबाट ३३ लाख रुपैयाँ जम्मा भइसकेको छ । यो परियोजनाको कुल लागत ५५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
उक्त सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ४४ वटामा फूल रोपिएको महानगरतर्फबाट जिम्मेवारी सम्हालिरहेका पुनमकुमार दाहालले जानकारी दिए । बाँकी दुई डिभाइडरमा समेत चाँडै हरियाली थपिने उनले बताए ।
यस्तै सहरको सवारी व्यवस्थापन प्रभावकारी बनाउन, महानगरले कञ्चनबारी, तीनपैनी, जलजला, रोडशेष र घाँसचोक क्षेत्रमा ७७ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान गरिसकेको छ । सहरका व्यस्त चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन यो पहल गरिएको महानगरले जनाएको छ ।
विराटनगर महानगरपालिकाले सहरलाई अँध्यारोमुक्त बनाउने लक्ष्यसहित ‘उज्यालो विराटनगर’ अभियान सञ्चालनमा ल्याएको छ । मुख्य र सहायक सडकहरूमा रहेका पोलहरूमा नियमित रूपमा सडक बत्ती बल्ने नीति लागू गरिएको छ ।
महानगर प्रमुख नागेश कोइराला आफैं पनि रातको समयमा सडक बत्तीहरूको अनुगमनमा निस्कने गरेको बताउँछन् ।
राति जुन पोलमा बत्ती नबलेको देख्छु, त्यहीँ प्राविधिक टोलीलाई बोलाएर तुरुन्त बत्ती बलाउने व्यवस्था गर्छु,
उनले भने ।
उनका अनुसार,अब विराटनगरमा मानिसहरूले गाडी वा मोटरसाइकलको हेडलाइट नबाली सहजै यात्रा गर्न सक्ने वातावरण बन्न थालेको छ ।
महानगरले ढाटदेखि रानी नाकासम्म अन्तर्राष्ट्रिय मापदण्डअनुसार पोल गाडी दुवैतर्फ बत्ती बल्ने गरी बजेट विनियोजन गरेको जानकारी पनि मेयर कोइरालाले दिएका छन् ।
कला, शिक्षा र प्राविधिक विकास
विराटनगर महानगरपालिकाभित्र १२२ जातजातिको बसोबास छ । बहुल सांस्कृतिक र भाषिक पहिचानलाई संरक्षण गर्न महानगरले विराटनगर प्रज्ञा प्रतिष्ठान स्थापना गरेको छ । सांस्कृतिक आत्मसम्मानको प्रवद्र्धनस्वरूप महानगरले आफ्नो लोगो निर्माण गरी प्रयोगमा ल्याइसकेको छ भने अडियो–भिडियोसहितको महानगरको आफ्नै गीत पनि तयार गरिएको छ ।
विराटनगर महानगरपालिकाले भौतिक पूर्वाधार मात्र होइन, शिक्षा क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १० वटा नयाँ विद्यालय निर्माण गरेका मेयर कोइरालाका अनुसार,‘भौतिक विकाससँगै शैक्षिक गुणस्तरको उन्नति नभएसम्म समग्र प्रगति अधूरो रहन्छ ।’
सबै विद्यालयमा पंखा र इनभर्टर वितरण जस्ता कार्यहरू सम्पन्न गरिसकेको छ । साथै, धार्मिक विद्यालयहरूलाई पनि हरेक वर्ष शिक्षक शिक्षण अनुदान प्रदान गरिएको छ ।
शैक्षिक सुधारका लागि महानगरले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ४२ बुँदे कार्यसम्पादन करार सम्झौता गरेको छ । कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम स्वीकृत भई लागू गरिएको छ ।
‘बुक फ्रि डे’ का रूपमा ‘खेल्दै सिक्दै कार्यक्रम’, विज्ञान प्रदर्शनी, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला, लोकनृत्यजस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा रचनात्मक क्षमता अभिवृद्धि गरिरहेको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिए ।
प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रलाई सशक्त बनाउन, महानगरले महानगर बहुप्राविधिक शिक्षालयमार्फत चार विषयमा २ सय ५८ जना विद्यार्थीलाई न्यून शुल्कमा इन्जिनियरिङ शिक्षा दिइरहेको छ ।
त्यस्तै, १६९६ घन्टे तालिमअन्तर्गत कम्प्युटर हार्डवेयर, कुक, इलेक्ट्रिकल, मेसन, प्लम्बिङ लगायतका व्यावसायिक सीपमूलक विषयमा २ सयभन्दा बढी युवाहरूले तालिम लिइरहेका छन् ।
स्वास्थ्य सेवा विस्तार
महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै पछिल्ला तीन वर्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको जनाएको छ । दक्षिणी रानी र उत्तरी बैजनाथपुर स्वास्थ्य संस्थालाई अस्पतालमा स्तरोन्नति गर्दै, सेवा विस्तारको महत्वपूर्ण आधार तयार गरिएको छ ।
दुवै अस्पतालमा फिजियोथेरापी, भिडियो एक्स–रे, बर्थिङ सेन्टर, एक्स–रे सेवा र फार्मेसीको सुविधा थपिएको छ । स्वास्थ्य बीमा कार्यक्रम पनि रानी अस्पतालमा लागू भइसकेको छ भने बैजनाथपुरमा लागू गर्ने तयारी भइरहेको छ । स्थानीयहरूले घरमै नजिकै गुणस्तरीय सेवा पाउँदा राहत महशुस गरिरहेका छन् ।
महानगरले विगत दुई वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सञ्चालन गर्दै आएको छ । मोतियाबिन्दुमुक्त महानगर बनाउने लक्ष्यअनुसार ६ वटामा साप्ताहिक आँखा क्लिनिक सञ्चालन भइरहेका छन् । क्लिनिकबाट निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया, चस्मा र औषधि वितरणसमेत हुँदै आएको महानगरले जनाएको छ ।
यस्तै ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण र औषधि वितरणको व्यवस्था गरिएको छ, जसबाट हालसम्म एक हजार भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
त्यस्तै, बालस्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै महानगरले पोषण प्याकेज, न्यानो कपडासहितको नवजात प्याकेज वितरण गर्दै आएको छ । साथै, ५ वर्ष मुनिका बालबालिकालाई मोरङ सहकारी अस्पतालमार्फत निःशुल्क उपचार उपलब्ध गराइएको छ ।
महानगरले निःशुल्क एम्बुलेन्स र शवबाहन सेवा प्रदान गरिरहेको छ भने नेपाल रेडक्रस मोरङ शाखाको सहकार्यमा निःशुल्क रगतको व्यवस्था गरिएको छ । मातृत्व सेवालाई सहज बनाउन बसपार्क र प्रशासनिक भवनमा स्तनपान कक्ष पनि सञ्चालनमा ल्याइएको उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।
महानगरले विराटनगर ४ दूधफारममा ३० लाख रुपैयाँको लागतमा अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
हाल केन्द्रमा रहेका २५ जना बालबालिकालाई फिजियोथेरापी, स्पीच थेरापी, अकुपेसनल थेरापी र बियबियर थेरापी सेवा दिइँदैछ । सेवा प्रदान गर्न ९ जना तालिम प्राप्त कर्मचारी खटिएका छन् । अभिभावकलाई पनि मनोपरामर्श दिइएको महानगरको स्वास्थ्य शाखा बताउँछ ।
यस्तै विराटनगर महानगरपालिकासहित छिमेकी पालिकामा समेत पुगेर महानगरको नगर प्रहरीले घरभित्र प्रवेश गरेको सर्पको उद्धार जारी राखेको छ । घरभित्र पसेको सर्पको नगर प्रहरीले २४ सै घन्टा उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाउने गरेको छ । हालसम्म २ सय ५० भन्दा बढी सर्पको उद्धार गरेर वन कार्यालयलाई बुझाइएको छ ।
बुधबार मात्रै बिरलै मात्रामा पाइने ‘स्प्रिङ कोब्रा’ नामको सर्प विराटनगर ४ मा फेला पर्यो ।
परैबाट विष बमन गर्ने यो सर्पको उद्धार गर्दा महानगरपालिकाका उद्धारकर्ता शम्भु धिमिरे आफैं घाइते बनेका थिए ।
विराटनगरमा शुद्ध खानेपानी, डिप बोरिङ
महानगरपालिकाले शुद्ध खानेपानीको सुनिश्चितता गर्ने चुनावी प्रतिबद्धतालाई कार्यान्वयनको चरणमा पु¥याएको छ । जापान सरकारको सहकारी संस्था जाइकाको झण्डै २ अर्ब रुपैयाँ अनुदानमा सञ्चालित विराटनगर खानेपानी परियोजनाको निर्माण तीव्र गतिमा भइरहेको छ ।
सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्यसहित प्रारम्भ गरिएको परियोजनाको पहिलो चरणले महानगरका १ देखि १४ नम्बर वडालाई समेट्नेछ । बाँकी वडालाई समेट्ने दोस्रो चरणको परियोजनाका लागि पहल थालिएको मेयर कोइरालाले जनाए । उनले चुनावी घोषणापत्रमा गरेको “शुद्ध खानेपानी हरेक घरमा” भन्ने प्रतिबद्धता अब पूर्णता तर्फ उन्मुख रहेको बताए ।
खानेपानीको पहुँचसँगै आपत्कालीन परिस्थितिमा दमकललाई सहजता प्रदान गर्ने उद्देश्यले महानगरले विराटनगर १० को सन्सारीमाईस्थान र महानगर परिसरमा डिप बोरिङ जडान गरिसकेको छ ।
नगर प्रहरी प्रमुख तथा वारुणयन्त्र प्रमुख राजन पौडेलका अनुसार, निजी क्षेत्रसँगको सहकार्यमा सेन्ट्रल मललगायत स्थानहरूमा पनि तत्काल पानी भर्ने व्यवस्था मिलाइएको छ । परियोजनाअन्तर्गत ३५ स्थानमा फायर हेड जडान गर्ने सम्झौता भइसकेको छ । परियोजना सम्पन्न भएपछि ती सबै स्थानबाट चौबीसै घण्टा दमकलमा पानी भर्न सकिने अवस्था सिर्जना हुनेछ ।
यस्ता छन् आलोचना
विराटनगर महानगरपालिकाले पैदलयात्री मार्गमा राखिएका पसलहरू हटाउने अभियान सुरु ग¥यो । यस क्रममा, महानगरले सडक छेउमा रहेका पसलहरूबाट सामानहरू जबरजस्ती जफत गरेपछि व्यापारीहरूले विरोधस्वरूप व्यवसायमा नकारात्मक असर परेको गुनासो गरे ।
महानगरपालिकाले महानगरको रूपमा आवश्यक पर्ने आन्तरिक आम्दानीको ५० प्रतिशत मात्र संकलन गर्न सकेको छ । ठूला व्यवसायिक घरानाहरू, जस्तै दुगड ग्रुप, आरके मल, र दिल्ली पब्लिक स्कूलले वर्षौंसम्म सम्पत्ति कर नतिरेको पाइएको छ । यसले महानगरको राजस्व लक्ष्यमा बाधा पु¥याएको देखिन्छ ।
यस्तै महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाउने अभियान सुरु ग¥यो । यस अभियानमा, महानगरले सडक मापदण्ड विपरीत बनेका संरचनाहरू डोजर प्रयोग गरेर हटायो । तर, धेरै स्थानहरूमा फुटपाथ नै नबनाइएको र महानगरकै कार्यालयहरू पनि निकास प्रणाली अतिक्रमण गरेर बनाइएको आरोप लाग्यो ।
यसका अलावा महानगरको नेतृत्वले अपेक्षित काम गर्न नसकिरहेको गुनासो स्थानीयस्तरबाट उठीरहेको छ ।
विराटनगर महानगरमा नेकपा एमालेका अध्यक्ष वलराम गिरीले स्थानीय तहमा आफूखुसि चलिरहेको भन्दै आफूँ पार्टीको अध्यक्ष हुँदै गर्दा बताएका थिए ।
कामको मूल्याङ्कन जनताले गरून्
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो तीन वर्षे कार्यकालको मूल्याङ्कन आफैंले नभई नागरिकहरूले नै गर्नुपर्ने बताएका छन् ।
“घोषणापत्रमा उल्लेख गरिएका सबै कामहरु शतप्रतिशत पूरा नहुँदापनि व्यवहारिक रूपमा हेर्दा करिब ६५ प्रतिशत काम सम्पन्न भएको अनुभूति छ,” कोइरालाले भने,
महानगरवासीको चाहनाअनुसार शिक्षा, स्वास्थ्य र पूर्वाधारमा उल्लेखनीय कामहरू गर्न सकिएको छ।
बजेटीय चुनौतीहरूको सन्दर्भमा उनले आफ्नो कार्यकालको शुरुवातमै २ अर्ब रुपैयाँ घाटासहित महानगरको वित्तीय व्यवस्थापन गर्नुपरेको स्मरण गरे । “श्रोत सीमित छन्, तर जनअपेक्षा अपार । हामीले यथासम्भव उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेका छौं,” उनले स्पष्ट पारेका छन् ।
मेयर कोइरालाको लक्ष्य कार्यकाल सकिँदासम्म एक ‘क्लिन’ महानगरपालिकाको रुपमा सुम्पनु रहेको छ ।
प्रतिक्रिया