सङ्गीता राई
धरान (सुनसरी)
सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ ।
दिनैमा भरि रमरसै गर्यों, छ महिनामा भेटौँ ।।
गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।।
वैशाख शुक्ल पूर्णिमासँगै किरात राई समुदायमा उभौली साकेला पर्वको उल्लास गुन्जन्छ—साकेला थानमा गुन्जिने ढोल(झ्याम्टाको ताल, गोलबद्ध नाच्ने युवायुवतीहरू र किराँती पोसाकमा सिँगारिएका अनुहारहरू त्यो सांस्कृतिक आस्थाको दृश्य हो, जुन परम्परा र पहिचानको गहिरो जरो बोकेर अघि बढिरहेको छ।
धरान-१९ की पार्वती राई भन्छिन्, “साकेला मेरो लागि नाच मात्रै होइन, यो माटोसँगको संवाद हो। किताबमा पढेको साकेला जब प्रत्यक्ष भोगिन्छ, त्यति बेला मात्र बुझिन्छ कि यो हाम्रो पहिचान बचाउने शक्ति हो।” वास्तवमै, आधुनिकताले छोए पनि धरान, इटहरी, बेलबारी, पथरीजस्ता सहरहरूमा युवाहरूको मौलिक चाडमा उत्साहजनक सहभागिता देखिन्छ।
उभौली किरात समुदायको कृषि संस्कृतिसँग गाँसिएको पर्व हो। अन्नबाली रोपाइँ सुरु गर्नुभन्दा अघि भूमे स्थानमा पूजा गरेर प्रकृतिसँग सहकार्यको कामना गरिन्छ। राई समुदायका वृद्ध विष्णु राई भन्छन्, “पहिला साकेला धर्तीप्रति कृतज्ञता प्रकट गर्ने अवसर थियो, जहाँ भावनाको गहिराइसँग नाच्ने चलन थियो।”
साकेला नृत्यका तीन मुख्य सिली—आराधनात्मक, अनुकरणात्मक र प्रतिक्रियात्मक—प्रकृति, जीवजन्तु र मानव गतिविधिको मिश्रण हुन्। ढोल र झ्याम्टाको तालमा घाम, पानी, चराचुरुङ्गी, हलो जोत्नेलगायतका हाउभाउमार्फत संवाद गरिन्छ। मोरङका सन्तोष राई र इटहरीकी पवित्रा राईजस्ता युवाहरू साकेलालाई प्रकृतिप्रति कृतज्ञता र पुर्खाप्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा लिन्छन्।
साकेलाको हरेक सिलीमा सामूहिकता, श्रम र सांस्कृतिक चेतनाको प्रतिविम्ब देखिन्छ। विशेष रूपमा हाक्पारे सिलीलाई यसको मूल आत्मा मानिन्छ, जहाँ सामुदायिक एकता, प्रकृतिप्रतिको नतमस्तकता र पुर्खाको स्मरण एकैसाथ समेटिन्छ।
पूर्वी पहाडी जिल्लाहरू—खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, धनकुटा, सोलुखुम्बु, इलामलगायत स्थानहरूमा साकेला सिलीको परम्परा अझै मजबुत रूपमा जरा गाडिरहेको छ। राजधानी काठमाडौँमा समेत पूर्वी पहाडबाट सरेका समुदायबिच यो पर्व व्यापक सहभागितासहित मनाइन्छ।
पितृ पूजाको गहिरो विश्वाससहित सुरु हुने उभौली पर्व कोसी नदी पार गर्ने परम्परा, प्रकृति पूजाको धरोहर, अनि राज्यबाट सार्वजनिक चाडका रूपमा स्वीकृति—यी सबैले साकेलालाई केवल नाच होइन, सांस्कृतिक अस्तित्वको प्रतिरूप बनाएको छ।
यसरी, साकेला आज केवल विगतको सम्झना होइन, वर्तमानको जिम्मेवारी र भविष्यप्रतिको उत्तरदायित्व बनिरहेको छ—जहाँ प्रकृति, पुर्खा र पहिचानबिचको संवाद निरन्तर नाच्दै गुन्जिरहेको छ।
प्रतिक्रिया