पाँचथरको हिलिहाङमा सम्पन्न भयो सांस्कृतिक सम्मेलन

विहीबार, २२ जेठ २०८२

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आयोजना गरिएको सांस्कृतिक सम्मेलन बुधवार सम्पन्न भएको छ।

हिलिहाङ–५ र ६ को संगमस्थल चतुरेमा सम्पन्न उक्त सम्मेलनमा गाउँपालिकाभित्रका सबै जातजातिका सांस्कृतिक झाँकीसहितका परम्परागत नृत्य प्रस्तुत गरिएका थिए।

नौमती बाजा, तामाङ सेलो, साकेला, बालन, सङ्गिनी, च्याब्रुङ, धाननाच, पालाम, सेर्पा र माझी संस्कृति झल्काउने नृत्य प्रस्तुत गर्दै १० वटा समूहले सांस्कृतिक विविधताको उत्सव मनाएका थिए।

कार्यक्रम गाउँपालिकाका सातै वडाबाट आएका कलाकारहरू र स्थानीयको बाक्लो उपस्थितिमा सम्पन्न भयो।

गाउँपालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाइका अनुसार सम्मेलनले पालिकाभित्रको सांस्कृतिक विविधता भित्रको एकतालाई थप मजबुत बनाउँदै, नेपालका मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिएको थियो।

सम्मेलनमा सहभागी सबै सांस्कृतिक समूहलाई गाउँपालिकाले जनही १० हजार रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरेको थियो।

सम्मेलनमा प्रस्तुत नृत्यहरू हेर्न बालबालिकादेखि वृद्ध वृद्धासम्मको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार