काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले वर्तमान सत्ता संयन्त्रलाई भ्रष्टाचार र मानव तस्करीको संरक्षकको रूपमा चित्रण गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले स्पेनको सोभिया मानव तस्करी घटनालाई सरकारी संयन्त्रको संलग्नता नभई सम्भव नहुने गम्भीर अपराधको उदाहरण बताए ।
“मानव तस्करीविरुद्ध ४७ दिनदेखि आवाज उठाइरहेकै छौँ, तर सरकारले अहिलेसम्म कुनै ठोस कदम चाल्न सकेको छैन,” उनले भने ।
चौधरीले कास्की मालपोत कार्यालय र भूमि आयोगको भ्रष्टाचारसम्बन्धी सार्वजनिक अडियो उदाहरण दिँदै सरकारकै संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले भने,“निर्दोष जनता जेलमा,दोषी मन्त्री कुर्सीमा—यही हो त न्याय ?”
सङ्घीय मामिला मन्त्री राजकुमार गुप्ता,भूमिसुधार मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै चौधरीले प्रश्न उठाए,“सत्ता संरचना नै समस्या हो कि समाधान? मानव तस्कर जोगाउने अधिकार प्रधानमन्त्रीलाई कसले दियो?”
संविधानभन्दा माथि कोही नहुने उल्लेख गर्दै उनले संलग्न मन्त्रीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे । “नैतिकताको सङ्कटको घडीमा कुर्सीमा टाँसिएर बस्नु आफैँमा अनैतिकता हो,” चौधरीले चेतावनी दिए, “अब जनताले प्रश्न गर्न थालेका छन्, सदनले जवाफ दिनुपर्छ ।”
प्रतिक्रिया