मोरङ : जेन–जी आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडले ध्वस्त पारेका मोरङको सुन्दरहरैंचास्थित महत्वपूर्ण संरचनाहरूको शनिबार नेपाली कांग्रेसले अनुगमन तथा निरीक्षण गरेको छ ।
कांग्रेस कोशी प्रदेश सदस्य तथा पूर्व मेयर शिव प्रसाद ढकाल, मोरङ सचिव ललित श्रेष्ठलगायत नगर कार्यसमिति सहितको टोली पीडित घरपरिवार र व्यवसायिक प्रतिष्ठानमा पुगेको थियो । उनीहरूले सुन्दरहरैंचा नगरपालिकाको कार्यालय, नेपालीरिका होटल, विभिन्न व्यक्तिका निजी आवास तथा पार्टी कार्यालय अवलोकन गर्दै पीडितलाई सान्त्वना दिएका छन् ।
आगजनी र तोडफोडमा परेका संरचनामध्ये सुन्दरहरैंचाको गौरव मानिएको नेपालीरिका होटल पूर्ण रूपमा खरानी बनेको छ । त्यस्तै, नगर प्रमुख केदारप्रसाद गुरागाईको घर, पूर्व सांसद भानुभक्त ढकालको आवास र पूर्व मेयर शिव प्रसाद ढकालकै घरमा पनि आन्दोलनकारीले आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।
कांग्रेसको सन्देश
अनुगमन अघि कांग्रेस कार्यकर्ताले आन्दोलनको क्रममा तोडफोडमा परेको पार्टी कार्यालय सरसफाइ गरेका थिए । त्यसपछि निरीक्षणमा सहभागी हुँदै पूर्व मेयर ढकालले कांग्रेस सधैं जनतासँग जोडिएको पार्टी भएको स्मरण गराउँदै भने, “अराजकताले निम्त्याएको पीडामा कांग्रेस पीडितसँग छ । हामी घाउमा मल्हम लगाउन आएको हौँ ।”
नेपालीरिका होटल : विश्वासको धरोहर
सुन्दरहरैंचामा मात्र नभई सम्पूर्ण प्रदेशमै गौरव मानिने नेपालीरिका होटल हाल खरानी बनेको छ । होटलका सञ्चालक भोलेश्वर दुलाल गहिरो पीडामा छन् । उनले भने,“हामीले वर्षौं लगानी, पसिना र विश्वासले यसलाई निर्माण गरेका थियौं । तर एकै क्षणमा सबै ध्वस्त भयो । अब पुनःसञ्चालन गर्न पनि सुरक्षा ग्यारेन्टी छैन, जसले गर्दा लगानीमै प्रतिकूल वातावरण बनेको छ ।”
होटलका प्रवन्ध निर्देशक आकाश दुलाल उल्लेख गर्दछन्,“भदौ २४ गतेको आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटले हाम्रो परिवारलाई गहिरो आघात पु¥याएको छ । हाम्रो दशकौंको मेहनत, पसिना र सपना खरानीमा परिणत भयो । तर हाम्रो संकल्प अझ बलियो बनेको छ । भवनहरू जल्न सक्छन्, तर सपना, आशा र भविष्य जल्दैनन् । यही नै हाम्रो र तोडफोड गर्नेबीचको वास्तविक भिन्नता हो ।”
होटलले सैयौंको संख्यालाई रोजगारी समेत दिँदै आएको थियो ।
नगरपालिकाको संकट र छलफल
आगोले नगरपालिकाको कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । कार्यालय नष्ट भएपछि स्थानीय सरकार कसरी सेवा प्रवाह गर्ने भन्ने विषयमा सुन्दरहरैंचा नगरपालिकाले आन्तरिक छलफल सुरु गरेको छ । नगरको प्रशासनिक निरन्तरतामा समस्या देखिएको छ भने सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा ठूलो चुनौती थपिएको छ ।
प्रतिक्रिया