इटहरी : जेन जी पुस्ताले आयोजना गरेको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले गर्दा इटहरी क्षेत्रका बासिन्दा अझैसम्म त्राहिमाम् भएका छन् ।
दुई जनाको ज्यान जाने गरी भएको घटना र त्यसपछि भएको तोडफोड तथा आगजनीपछि इटहरीलाई पहिलेकै लयमा फर्काउनका निम्ति शान्ति–सुरक्षा मजबुत हुनुपर्ने शनिवार आयोजित भेलामा सरोकारवालाहरूले बताएका छन् ।
नागरिक समाज इटहरीले शनिवार आयोजना गरेको भेलामा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले उद्योगी–व्यापारीमा त्रासकै कारण बजार पूर्ण रूपमा खुलाउन गाह्रो भएको बताए ।
उनले यतिबेला प्रहरी नहुँदा सुरक्षा चुनौती थपिएको बताए । उनले इटहरीमा सामाजिक सद्भाव गर्न भूमिकाले सबै एक ढिक्का हुनुपर्ने पनि बताए ।
सेनाले सुरक्षाको जिम्मा लिएता पनि प्रहरी हुँदा थप सहज हुने सहभागीले बताए ।
एकातिर प्रहरीको उपस्थिति नहुँदा र अर्कातिर झुम्का कारागारबाट एक हजार पाँच सय भन्दा बढी कैदीबन्दी बाहिरिएकाले गर्दा यस क्षेत्रमा रातिको बेला समेत चोरीका घटना श्रृखलाबद्ध रूपमा हुन थालेपछि तत्काल शान्ति सुरक्षा सामान्य गर्न तर्फ नियमनकारी सुरक्षा निकायले ध्यान दिनुपर्ने उद्योग वाणिज्य सङ्घका महासचिव विनोद पौडेलले बताए ।
शान्ति सुरक्षालाई सामान्य बनाउनका लागि अहिले प्रहरी कार्यालय नहुँदा प्रहरी तरहरा चौकीमा गएर बसेकाले इटहरी बजार क्षेत्रमै ल्याउने वातावरण बनाउन सम्पूर्ण सङ्गठित भएर लाग्नुपर्ने नेपाल जेसीजका पूर्व केन्द्रीय अध्यक्ष महेश पौडेलले बताए ।
उनले प्रहरीका निम्ति दीर्घकालीन ढङ्गले बसोबासको व्यवस्था मिलाउने गरी अघि बढ्न सुल्झाए । भेलामा निजी विद्यालय प्याब्सनका जिल्ला अध्यक्ष थानेश्वर ढकालले शिक्षालय सहज ढङ्गले खुल्ने वातावरणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
इटहरी उपमहानगरपालिका शिक्षा शाखाले भदौ ३१ गतेदेखि विद्यालय सुचारु हुने सूचना पनि जारी गरी सकेको छ ।
रेडक्रस इटहरी उपशाखाका सभापति दिनेश भट्टराई शान्ति सुरक्षा कायम गर्न सरकारी मुख नताकी उद्योगी र व्यवसायीसँगै दाताहरूलाई आग्रह गरेर भवन व्यवस्थापनलाई नै प्राथमिकता दिनुपर्ने बताए । इटहरीका समाजसेवी हेम घिमिरेले मृतक दुई जनाको शव तत्काल दाहसंस्कार गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
शान्ति सुरक्षा कायम गर्नसँगै इटहरी क्षेत्रका शिक्षालय सञ्चालन गर्न र इटहरी क्षेत्रका सम्पूर्ण गतिविधिलाई पहिलेकै लयमा फर्काउनका लागि विभिन्न निकायसँग समन्वय तथा सहकार्यका लागि नागरिक समाज इटहरीका अध्यक्ष आरके राईको नेतृत्वमा १८ सदस्यीय समिति समेत बनेको छ । यस क्षेत्रका रहेका सामाजिक संस्थाका प्रतिनिधीहरुलाई सहभागी गराएर समिति बनेको हो ।
भेलामा इटहरी क्षेत्रमा सञ्चालित होटल तथा लजमा पहिचान स्पष्ट नखुलेका र शङ्कास्पद व्यक्तिलाई होटल बास नदिने होटल तथा लज व्यवसायीले घोषणा समेत गरेका छन् ।
सुन पसलेहरूले पनि अपरिचित व्यक्तिसँग कारोबार गर्दा सचेत भएर गर्ने बताए । सोही क्रममा सहभागीहरूले कवाडी सञ्चालकलाई शङ्कास्पद सामान खरिद नगर्न सुल्झाए ।
जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका इटहरी वडा नं. १४ का मोहन सरदार र मधेसा वडा नं. ६ घर भई इटहरी बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको शव दाहसंस्कार गर्ने नागरिक समाज इटहरीले पहल गर्ने भेलामा जानकारी दिइयो ।
दुवै मृतकका परिवारले नागरिक समाज इटहरी समक्ष शव ल्याउन व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया