५ करोड ५० लाखमा बन्ने भयो दिखुवा खोलामा मोटरेबल पुल

शनिबार, १७ जेठ २०८२

खोटाङ : खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्ने दिखुवा खोलामा अब मोटरेबल पुल निर्माण हुने भएको छ। करिब ५ करोड ५० लाख रुपैयाँको लागतमा बन्ने उक्त पुलको शिलान्यास कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शनिबार गरेका छन्।

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक खण्डमा पर्ने र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र वडा नं. १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा पुल नहुँदा बर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएको थियो।

पुल निर्माण प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय गाइघाटको साझेदारीमा हुन लागेको हो। स्टिल ट्रष्ट प्रयोग गरेर बन्ने उक्त पुलका लागि करिब २ करोड रुपैयाँ बराबरको स्टिल ट्रष्ट तयार भइसकेको छ। उक्त स्टिल ट्रष्ट शनिबारै निर्माण स्थलमा पुर्याइएको छ भने बाँकी ट्रष्ट क्रमशः ल्याइने जानकारी प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले दिएका छन्।

दिक्तेल–महुरे २० किलोमिटर सडक कालोपत्र भइसकेको छ भने महुरे–राजापानी–रेग्मीटार सडकको २९ किलोमिटर खण्डमा कालोपत्रको काम भइरहेको छ। दिक्तेल–रेग्मीटार सडक कुल ५९ किलोमिटर लामो छ। निर्माणाधीन वैकल्पिक सडक खण्ड दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार साढे १७ किलोमिटर छोटो हुने भएकाले यातायात आवागमनमा थप सहजता आउने अपेक्षा गरिएको छ।

पुल निर्माणपछि दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक प्रयोगमा आएमा जिल्लामा खाद्यान्न, इन्धन, हार्डवेयर लगायतका दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुने स्थानीय व्यवसायीहरूको भनाइ छ। यातायात सञ्चालन सुचारु भएपछि स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार