एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा चालकको मृत्यु, ६ जना घाइते

सोमबार, १९ जेठ २०८२
साङ्केतिक तस्बिर

नवलपुर : नवलपुरको देवचुली नगरपालिका–२ स्थित दुम्कौली चोकमा सोमबार बिहान एम्बुलेन्स र स्कुल भ्यान एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बुटवलबाट नारायणघाटतर्फ बिरामी बोकेर जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ गइरहेको बा २० च ७२ नम्बरको दिव्य एकेडेमी बोर्डिङ स्कुलको भ्यान एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली–१ निवासी ५२ वर्षीय कुलप्रसाद सुबेदी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्समा सवार ३ जना बिरामीमध्ये बुटवल उपमहानगरपालिका–३ की ३६ वर्षीया लक्ष्मी राईको टाउकोमा चोट लागेको छ भने २५ वर्षीया इसु राई र २५ वर्षीया स्नेहा परियारको अनुहारमा चोट लागेको छ। तिनीहरूको अवस्था मध्यम रहेको र थप उपचारका लागि चितवन पठाइएको छ।

यस्तै, स्कुल भ्यानमा सवार देवचुली–१७ की १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का सामान्य घाइते भएका छन्। उनीहरूलाई स्थानीय भविष्य पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार