विराटनगर । जीवन विकास समाजले मोरङको कटहरीमा सामुदायिक अस्पताल सञ्चालनमा ल्याएको छ ।
नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले २ सय बेड क्षमताको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको हो । ‘जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशन’को नाममा सेवा प्रवाह सुरु गरिएको हो । अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने उक्त अस्पतालको सबै संरचना र पूर्वाधार तयार भइसकेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
प्रतिनिधिसभा सदस्य एवं फाउण्डेसनका अध्यक्ष योगेन्द्र मण्डलले जेठ २४ गते शनिबारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘गरिबीरहित नेपाल’को परिकल्पनासहित २०५४ सालमा स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्न वित्तीय पहुँच पुर्याउने काम गर्दै आएको उनको भनाइ छ ।
मण्डलका अनुसार शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनाका लागि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले राखेर जीवन विकास समाजको पहलमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन स्थापना भएको अध्यक्ष मण्डलले बताए ।
जीवन विकास समाजले २०५४ सालमा मोरङको अमाहीबरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेको थियो । क्लिनिकबाट जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै अत्याधुनिक सुविधासम्पन्न अस्पताल सञ्चालनको अवस्थामा आइपुगेको उनको भनाइ छ । अस्पतालबाट अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरुबाट दैनिक ओपिडी सेवा, नर्मल तथा ‘पेनलेस’ डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेशन सेवा प्रदान गरिने जनाइएको छ ।
यसैगरी, बालरोग उपचार सेवा, डाइलासिस, आधुनिक मेसिनबाट सबै किसिमको परीक्षण र ल्याब सेवा, नाक कान घाँटीको उपचार सेवा, आँखा जाँचलगायत सबै किसिमको सेवा प्रवाह गर्ने जनाइएको छ । सेवा प्रवाहका लागि विषेशज्ञ चिकित्सकसहित २ सय जनशक्ति खटिएका छन् । भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित २० बिघा क्षेत्रफलमा निर्माण भएको अस्पतालले आफ्नो सेवालाई थप विस्तार गर्दै लैजाने योजना बनाएको छ ।
प्रतिक्रिया