सुर्खेत । नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले आगामी २०८४ सालमा पार्टीलाई निर्णायक शक्ति बनाउनुको विकल्प नभएको बताएका छन् ।
देशले लिएको 'समृद्ध नेपाल; सुखी नेपाली'को दीर्घकालीन लक्ष्य पूर्तिका लागि आसन्न निर्वाचन मार्फत एमालेलाई निर्णायक शक्ति बनाउनु पर्ने भएकाले सम्पूर्ण पार्टी पंतिलाई त्यसै अनुसार लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
एमाले स्थायी कमिटी सदस्य समेत रहनु भएका इन्चार्ज बोगटीले पछिल्लो पटक पार्टीले लिएको सिद्धान्त, विचार, नीति,कार्यक्रम, व्यवहार र नेतृत्व सही साबित हुँदै गएका कारणले नै आम नेपालीको भरोसा एवम् रोजाइको पार्टी बन्न एमाले सफल भएको उल्लेख गर्दै एमालेले लिएको नीति र लक्ष्य पुरा गर्नका लागि भोटका माध्यमबाट पहिलो शक्ति बनाउनु पर्नेमा जोड दिए ।
'पार्टी भित्रैका केही व्यक्ति दक्षिणपन्थी अवसरवादको रसातलमा फस्ने गरेका तथा महत्त्वाकाङ्क्षा, पदलोलुपता, रिस, आवेग र आग्रहको चपेटामा पर्दै गर्दाको परिणामस्वरूप एमालेले पटक-पटक फुट तथा विभाजनको पीडा पनि भोग्दै आउनु परेको तथ्य हामी सबैलाई जगजाहेर भएकै विषय हो,' उनले भने, 'फुट र विभाजनका कारण क्षणिक समय पार्टीले र सिङ्गो देशले केही नोक्सानी बेहोर्नु परेको भएता पनि राजनीतिक इतिहासमा पार्टी विभाजनको गलत कार्य कहिल्यै पनि सत्य साबित हुन सकेको छैन ।'
नेकपा(एमाले) लाई फुटाएर वैकल्पिक शक्ति निर्माण गर्ने दिवास्वप्न देखेर पार्टीलाई फुटाउन गरिएका गलत हर्कत कहिल्यै पनि सही साबित हुन नसकेको बताउँदै इन्चार्ज बोगटीले हिजो पार्टीको शीर्ष स्थानमा रहिसकेका केही नेताहरू पार्टी विभाजनको बहकाउमा लागेर बाहिरिएका मध्येका केही नेताका हिजो आजका अभिव्यक्तिबाट पनि पार्टी फुटाउनु गलत कार्य भएको र सो कार्यले आफू पश्चात्तापमा भएको अभिव्यक्ति दिने गरेका घट्नाबाट पनि त्यस्तो कार्य गलत भएको पुन:पुष्टी भएको बताएका हुन् ।
'बनेको पक्की घर भत्काएर प्वाल परेको टिनको छाना मुनी बस्ने काम कदापि पनि उचित हुने कुरा थिएन । गलत बाटोको रोजाइको परिणाम अन्ततः गलत ठाउँमै पुग्नुपर्ने थियो र जो भयो पनि' नेता बोगटीले भने ।
हिजो विभिन्न कारणले एमालेबाट बाहिरिएका हजारौँ कार्यकर्ताहरू पुनः एमालेमा सामेल भैँ पार्टी अभियानमा जुट्न आग्रह समेत गर्नु भएका बोगटीले यो अभियानलाई कर्णालीका दश वटै जिल्लाका प्रत्येक बस्तीमा पुर्याउन आग्रह गर्नु भएका नेता बोगटीले यसका लागि एमाले अझै सुदृढ हुन र अन्य वामपन्थी शक्ति एवम् व्यक्तिलाई पार्टीमा समाहित गराउन जरुरी रहेको बताए ।
प्रतिक्रिया