काठमाडौँ : आन्दोलनरत यातायात व्यवसायी र सरकारबिचको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली खारेज गर्नुपर्ने मुख्य मागसहित व्यवसायीहरूले देशव्यापी अनिश्चितकालीन यातायात बन्द घोषणा गरिसकेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न वार्तामा व्यवसायीका सातमध्ये छ बुँदामा सहमति जुटे पनि प्रमुख मागका रूपमा रहेको गण्डकी प्रदेशको राइड सेयरिङसम्बन्धी ऐन खारेजमा सहमति हुन नसकेपछि वार्ता स्थगित भएको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम राई 'ज्वाला' ले प्रदेश खबरलाई जानकारी दिए अनुसार आजै दोस्रो चरणको वार्ता पुनः बस्ने तयारी भइरहेको छ।
व्यवसायी पक्षले प्रदेश सरकारको नियम संघीय कानुनसँग बाझिएको भन्दै खारेजको माग गरेका छन्, तर सरकारले तत्काल खारेज गर्न अस्वीकार गर्दै आएको छ। व्यवसायीले कम्तीमा पनि ऐन स्थगन गर्न आग्रह गरे पनि त्यसमा सहमति जुट्न सकेको छैन।
वार्तामा चार वटा यातायात महासङ्घ र चार वटा ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी थिए। सरकारतर्फ गृह मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका सचिव कृष्ण पन्त, र यातायात व्यवस्था विभागका अधिकारीहरूले प्रतिनिधित्व गरेका थिए।
ज्वालाका अनुसार दोस्रो चरणको वार्ताबाट सबै मागमा सहमति जुट्ने आशा गरिएको छ। वार्ता निष्कर्षमुखी नभए आन्दोलन थप चर्किने सङ्केत व्यवसायीहरूले दिएका छन्।
प्रतिक्रिया