काठमाडौँ : 'राइड सेयरिङ' सेवा खारेज गर्ने विषयमा सरकार र यातायात व्यवसायीबिच मतभेद कायमै रहेपछि सोमबार अबेरसम्म सम्पन्न दोस्रो चरणको वार्ता पनि कुनै निष्कर्षबिना टुङ्गिएको छ।
यातायात व्यवस्था विभाग, गृह मन्त्रालयलगायत सरकारी निकायका प्रतिनिधि र चार वटा यातायात व्यवसायी महासङ्घ तथा चार वटा ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी वार्तामा कुनै ठोस सहमति बन्न सकेन।
व्यवसायीहरूले निजी सवारी साधन प्रयोग गरी व्यावसायिक रूपमा 'राइड सेयरिङ' सेवा सञ्चालन गर्न नदिने अडान दोहोर्याएका छन् भने सरकारले भने प्रविधिमा आधारित सेवाको व्यवस्थापन र नियमनमा जोड दिइरहेको छ।
नेपाल स्वतन्त्र यातायात मजदुर सङ्गठनका अध्यक्ष भीम राई 'ज्वाला'का अनुसार सात वटा मुख्य बुँदामा छलफल भए पनि विवादास्पद एउटा बुँदामा सहमति नजुटेपछि वार्ता निष्कर्षविहीन भएको हो। उनले भने,'अबको वार्ता कहिले र कहाँ हुन्छ भन्ने खुलेको छैन। आन्दोलन भने आज पनि जारी रहनेछ।'
यसबीच, गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय कानुनमार्फत 'राइड सेयरिङ' सेवालाई वैधता दिँदै सञ्चालन गर्न लागेको निर्णयपछि त्यसको विरोधमा यातायात व्यवसायीहरू हिजोदेखि अनिश्चितकालीन बन्दमा उत्रिएका छन्।
प्रतिक्रिया