सोमबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कार्कीले सोलुखुम्बुबाहेक प्रदेशका सबै जिल्लामा लागू औषध प्रयोगको अवस्था भयावह रहेको उल्लेख गरे। उनले झापा, मोरङ, सुनसरीजस्ता तराईका जिल्लाहरूमा लागू औषध कारोबार बढी हुने गरेको बताए।
“लागू औषध नियन्त्रण प्रहरी एक्लैले सम्भव छैन,” उनले भने, “समुदाय र परिवारको सहकार्यमा विशेष टोली परिचालन गर्दै विशेष अपरेसन सञ्चालन गरिनेछ।”
कार्यक्रममा उद्योगी व्यवसायीहरूसँग सुझाव लिएका डीआईजी कार्कीले, बिर्तामोडसहितका स्थानहरूमा समुदाय–प्रहरी साझेदारीलाई सशक्त बनाउँदै जानुपर्ने धारणा राखे।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेषराज भण्डारी, होटल व्यवसायी संघकी अध्यक्ष इन्दिरा श्रेष्ठ, इलाका प्रहरी कार्यालय अनारमनी भौतिक संरचना निर्माण समितिका अध्यक्ष देवी गिरी लगायतले आफ्ना धारणा राख्दै प्रहरीलाई सहकार्यका लागि आग्रह गरे।
कार्यक्रम प्रहरी उपरीक्षक राजन लिम्बूको उपस्थिति र अनारमनी प्रहरी नायब निरीक्षक विजय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।
यसअघि डीआईजी कार्कीले जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय, हिरासत कक्ष तथा शाखाहरूको निरीक्षण गरेका थिए। उनले वृक्षारोपणसमेत गरेका थिए।
निरीक्षणपछि प्रमुख कार्कीले झापा जिल्लामा खटिएका प्रहरी अधिकृतहरूलाई आचरण, अनुशासन र जिम्मेवारीप्रति संवेदनशील रहन निर्देशन दिएका छन्। उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कार र अनुशासन भंग गर्नेप्रति कारबाही गरिने उनको भनाइ थियो।
खुला सिमाना भएको झापामा हुने सीमा अपराध, तस्करी, भन्सार छली र लागू औषध ओसारपसार नियन्त्रण गर्न शून्य सहनशीलतासहित व्यावसायिक प्रहरी भूमिकामा क्रियाशील हुन उनले निर्देशन दिए।
सोही क्रममा उनले विपद् व्यवस्थापन गुल्म चन्द्रगढीको पनि निरीक्षण गरी विपद् उद्धार सामग्रीको अवलोकन गरे। आगामी वर्षायाममा बाढी, पहिरोजस्ता घटनाबाट नागरिकको सुरक्षाका लागि तयारी अवस्थामा रहन उनले प्रहरीलाई निर्देशन दिएका छन्।
प्रहरी उपरीक्षक राजन लिम्बूले झापाको शान्ति सुरक्षाको समग्र अवस्था, जनशक्ति व्यवस्थापन, सुरक्षा चुनौती र भारतसँगको समन्वयबारे डीआईजी कार्कीलाई जानकारी गराएका थिए।
प्रतिक्रिया