धरान फाइट नाइट २०२५ को आय-व्यय सार्वजनिक, आयोजकलाई झण्डै २ लाख रुपैयाँ घाटा

सोमबार, १९ जेठ २०८२

धरान : धरान बक्सिङ्ग संस्थाको आयोजनामा पहिलोपटक सम्पन्न भएको राष्ट्रियस्तरको 'धरान फाइट नाइट–२०२५' को आय-व्यय विवरण सार्वजनिक गरिएको छ। आज धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले आर्थिक विवरण सार्वजनिक गर्दै प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख ३१ हजार रुपैयाँभन्दा बढी खर्च भएको जनाएका छन्।

आम्दानी भने ११ लाख ३२ हजार रुपैयाँमा सीमित भएपछि संस्थालाई झण्डै २ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नु परेको आयोजकको भनाइ छ।

गत वैशाख १२ गते धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ हलमा आयोजित प्रतियोगितामा एमेच्योर तर्फ ५ र प्रोफेसनल तर्फ ४ खेल समावेश गरिएका थिए। प्रतियोगितामा धरानसहित झापा, धनकुटा, काठमाडौं, ललितपुर, उदयपुर र त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले सहभागिता जनाएका थिए। 'आइबीए प्रो फाइट' नेपालमा पहिलोपटक धरानमै आयोजना गरिएको थियो।

एमेच्योर विधामा दिव्या चेम्जोङ लिम्बु, सभ्रान्त लिम्बु, नवाहाङ राई, मनिष पराजुली र निकेश गुरुङ विजयी बनेका थिए। प्रोफेसनल विधामा फुङलाङ काम्बाङ, सिंहविर लिम्बु, सुलभ माली र सम्राट महर्जनले उपाधि हात पारे। प्रो विजेताहरूले जनही रु ३५ हजार र उपविजेताले रु २५ हजार पाए भने एमेच्योर विजेतालाई रु ६ हजार र उपविजेतालाई रु ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

आयातर्फ आयोजकले टिकट बिक्रीबाट १ लाख ६८ हजार रुपैयाँ संकलन गरेका थिए। त्यसबाहेक गंगा प्रसाद राई एण्ड टिम युके, नेपाल युथ अर्गनाइजेशन युके, धरान हङकङ मञ्च, होटल मेरिकन लगायत विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग प्राप्त भएको थियो।

खर्च विवरण अनुसार प्रमुख खर्च शीर्षकहरूमा पुरस्कार वितरण, साउण्ड सिस्टम, हल भाडा, बिमा, मञ्च सजावट, प्रेस मिट, खेलाडी आवास, डान्स प्रस्तुति, डिजे, प्रचारप्रसार, सुरक्षाकर्मी, खानपान तथा आकस्मिक खर्चहरू रहेका थिए।

कार्यक्रममा आउटसाइडर ब्यान्डको लाइभ प्रस्तुति, सिङ्क इन डान्स सेन्टरको नृत्य र डिजे नोभसनको विशेष प्रस्तुति समेत समावेश गरिएको थियो। आयोजक संस्था धरान बक्सिङ्गका अध्यक्ष दिपक राईले धरानलाई ‘खेलकुद शहर’को रूपमा चिनाउने लक्ष्यसहित यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्दै लैजाने योजना रहेको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार