नवलपुर । निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यात्रुले सास्ती पाएका छन् ।
गण्डकी प्रदेश सरकारले गरेको निर्णयको विरोधमा व्यवसायीले यात्रुवाहक सार्वजनिक सवारीसाधन ठप्प पार्दा यात्रुहरूले सास्ती पाएका हुन् । यात्रुबाहक सवारीसाधन सञ्चालन नभएपछि छोटो दूरीको यात्रा गर्ने यात्रु पैदल तथा तीन पाङग्रे अटोरिक्सा र राइड शेयरिङमार्फत गन्तव्यतर्फ लागे पनि टाढा जाने यात्रु सडक किनारमा सवारीसाधनको प्रतिक्षामा बसेका छन् । चर्को घाममा राजमार्गको छेउमा सवारीसाधन कुरेर बस्दा निकै सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटबाट बुटवलका लागि हिँडेकी राधिका क्षेत्रीले गाडी नचल्दा निकै दुःख पाएको बताइन् ।उनले काखमा नाबालक छोरा बोकेर सवारीसाधन कुरिरहेकी थिइन् । ।
बुटवलका केशव शर्माले वैदेशिक रोजगारबाट फर्किएर राति नारायणघाटमा बास बसेर बिहान बुटवल जान खोज्दा गाडी नपाएको बताए ।
यातायात व्यवसायीको सम्बोधन नहुने कुरामा सवारीसाधन बन्द गरेर यात्रुलाई दुःख दिन नहुने शर्माले बताए । केही यात्रु भने राइड शेयरिङ र तीन पाङ्ग्रे अटोमार्फत चर्को भाडा तिरेर गन्तव्यमा जान राजमार्गमा आउँदा सार्वजनिक सवारीसाधन नचलेपछि दुःखी छन् ।
“चितवनको टाँडीबाट पठाओ गरेर यहाँसम्म आएँ,” गुल्मीका प्रिन्स शाहीले भने । गाडी बन्द हुन्छ भन्ने थाहा नभएर घरमा जान हिँडेको भन्दै शाहीले सरकारले व्यवसायीको कुरा नसुन्दा आफूहरूले दुःख पाएको गुनासो गरे ।यातायात व्यवसायीले भने आफूहरूले यात्रुलाई दुःख नदिएको दाबी गर्दै आएका छन् । यातायात व्यवसायी दीपक मिश्रले सरकारले आफूहरूको कुरा नसुनेसम्म र निजी प्रयोजनका लागि खरिद गरिएको सवारीसाधनलाई यात्रु बोक्न दिने निर्णय नसच्याएसम्म गाडी नचलाउने बताए ।
सार्वजानिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आजदेखि देशभर यात्रुवाहक सार्वजनिक सवारीसाधन अनिश्चित कालका लागि ठप्प पारेको जनाएको छ । व्यवसायीले राखेको मागप्रति सरकार गम्भीर नबन्दा गरिएको सवारीसाधन बन्दले देशभरका यात्रुहरूले दुःख मात्रै पाएका छैनन् अत्यावश्यक कामसमेत ठप्प भएको छ ।
प्रतिक्रिया