बन्दुकधारी प्रहरीको घेरामा साझाका बस

सोमबार, १९ जेठ २०८२

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूको बन्दका कारण यात्रुहरूले सास्ती व्यहोरिरहेका बेला साझा यातायातले प्रहरीको बन्दुकसहितको सुरक्षा घेरामा आफ्ना बसहरू सञ्चालन गरिरहेको छ 

व्यवसायीको आन्दोलनले सार्वजनिक सवारी ठप्प हुँदा यात्रुको सुविधालाई ध्यानमा राख्दै साझाले यो कदम चालेको हो ।

काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि साझाका ४० वटा बस सडकमा गुडेका हुन् । साझा यातायातका अनुसार, प्रत्येक बसमा हतियारधारी प्रहरी परिचालन गरिएको छ ।

उनीहरले यात्रु तथा सवारी दुवैको सुरक्षा सुनिश्चित गरिरहेका छन् । बिहान १५ वटा बसबाट सेवा सुरु गरिएकोमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै दिउँसोबाट थप बस सञ्चालनमा ल्याइएको हो ।

व्यवसायीको आन्दोलनका क्रममा हुन सक्ने सम्भावित अवरोध र तोडफोडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

हाल साझाले काठमाडौं उपत्यकाका ५ वटा प्रमुख रुटमा बस सञ्चालन गरिरहेको छ। जसमा लगनखेल–गोंगबु बसपार्क, लगनखेल–बूढानीलकण्ठ, गोदावरी–रत्नपार्क, थानकोट–एयरपोर्ट र थानकोट–बुढानीलकण्ठ रुट रहेका छन् ।

असुरक्षाका कारण लामाटार–रत्नपार्क, लेले-जमल र बुंगमती-जमल रुटमा भने तत्कालका लागि बस सञ्चालन गरिएको छैन । प्रहरीसँगको समन्वयमा यी रुटमा पनि छिट्टै सेवा सुचारु गर्ने साझाको तयारी छ ।

लामो दूरीका रुटमा भने अवस्था हेरेर मात्र निर्णय लिइने साझाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार