विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताएका छन् ।
कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । नेपाली कांग्रेस विराटनगर ४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि काङ्ग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए । उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने धारणा राखे ।
‘लोकतन्त्रको पर्यायवाची नै कांग्रेस हो । यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन देश नै कमजोर हुन्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने, ‘काँग्रेसलाई बलियो बनाउन काँग्रेसलाई युवा माझ लिएर जानुपर्छ । काङ्ग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्छ । लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि काँग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी छ ।’
पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र सङ्घको चुनावमा काँग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको उनको धारणा थियो । काँग्रेसले काँग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा काँग्रेसले नहार्ने कोइरालाले प्रस्ट्याए । ‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरूमै हुन्छु । जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, सङ्गठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै काँग्रेसले काँग्रेसलाई भोट नदिएकै कारणले हो ।’
जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरूसितको प्रतिस्पर्धामा कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए । ‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘यसले काँग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरू पार्टीले जितेका स्थानीय, प्रदेश र सङ्घमा कांग्रेस भएको भए त्यहाँ काँग्रेसलाई नै फाइदा हुन्थ्यो । समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरू पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’
त्यस्तै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझावसमेत दिए । उनले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउने र देशमा देखिएका समस्याबारे छलफल गर्न सुझाव दिएको समेत बताए ।
‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजी लगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’
कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्यसमेत रहेका नेपाली कांग्रेस कोशीका उपसभापति रमेशजंग रायमाझी, सहमहामन्त्री डा. प्रमीला गच्छदार, कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की, मोरङ काँग्रेसका सहसचिव सञ्जय मण्डल, महानगर समितिका सभापति दीपक चापागाईँ, नेता नेता चुमनारायण तब्दार, चेतराज रेग्मी, देवचन्द्र घिमिरे, केशव गिरी, महिला सङ्घकी केन्द्रीय सदस्य डा. सीता घिमिरे, वडा सभापति राजकुमार तब्दार, सचिव
लगायतले देशको हरेक राजनैतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेसले अब आर्थिक परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले काङ्ग्रेसभित्रको वैमनस्यताले विगतमा धेरै स्थानमा कांग्रेस पराजित हुनुपरेको स्मरणसमेत गरे ।
सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्य नखबहादुर खड्का, सुरेश तिम्सिना, सियाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्ण मोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया