काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सोडारीले सार्वजनिक पदधारण गरेको मिति २०७४ माघ ७ गतेदेखि मिति २०७९ फागुन १० सम्मको जाँच अवधिमा पचासी लाख एकाउन्न हजार तीन सय चौतीस रूपैयाँ र बयानब्बे पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ । तर सोही अवधिमा आम्दानी र खर्च हिसाब गर्दा एक करोड आठ लाख अठ्तीस हजार तीन सय दुई रूपैयाँबराबरको हिसाब देखाउन नसकेकाले त्यति नै बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
कुल आय र व्ययको तुलना गर्दा सोडारीको स्रोत नखुलेको रकम १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा रहेको आयोगको दाबी छ। सोडारीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१)र (२), दफा १६ को उपदफा (२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिमको कसुर गरेको अख्तियारको दाबी छ ।
सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् ।सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघदेखि २०७५ कात्तिक सम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए ।
त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।सोडारी ६ वैशाख ०८१ देखि २० साउन सम्म तीन महिना प्रदेशको मुख्यमन्त्री बनेका थिए ।
प्रतिक्रिया