काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले यातायात व्यवसायीहरूसँग सोमबार मध्यरात भएको सहमति जनताको हितमा नभएको स्पष्ट पारेका छन् । यातायात व्यवसायीहरूसँग झुकेर सरकारले सिन्डिकेटलाई संरक्षण गरेको उनको भनाई छ।
मङ्गलवार बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा उपाध्यक्ष ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ। जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो। निश्चित वर्गको फाइदाका निम्ति सरकारले यो सम्झौता गरेको छ।’गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबिच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो।
उपाध्यक्ष ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको बताए । उनले तर, सरकारले के आधारमा सम्झौता गरियो भनेर प्रश्न गरे ।
उनले भने- 'फेरि मुख्य रूपमा भौतिक पूर्वाधार मन्त्रालय नै जोडिनुपर्ने यसमा। विभिन्न मन्त्रालयका साथीहरूलाई राखेर एउटा सहमति गरिएको छ, यो चाहिँ आपत्तिजनक छ। यस ढङ्गले जनताले सेवा पाउँदैनन्।’
प्रतिक्रिया