काठमाडौँ : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनबारे सार्वजनिक रूपमा बोलेपछि पार्टीभित्र एक्लिदै परेका छन्।
स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले शर्माको अभिव्यक्तिलाई आपत्तिजनक बताउँदै आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन्।
शुक्रवारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा शनिवार १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखे। बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने भएको छ।
बैठकमा अधिकांश नेताहरूले पार्टीभित्रको विषय सार्वजनिक रूपमा उठाउनु अनुचित भएको भन्दै शर्मामाथि आलोचना गरेका छन्।
स्रोतका अनुसार उपमहासचिव शर्माको पक्षधर मानिने स्थायी कमिटी सदस्य खगराज भट्टले समेत प्रचण्डको विकल्प खोज्ने बेला नभएको बताउँदै शर्माले आत्मालोचना गर्नुपर्ने धारणा राखे।
यस्तै,उपमहासचिव वर्षमान पुनले पनि असन्तुष्टि र असमझदारी पार्टीभित्रै राख्नुपर्ने भन्दै सार्वजनिक टिप्पणीले विरोधीलाई फाइदा पुग्ने चेतावनी दिएका छन्।
शर्माको अभिव्यक्तिले पार्टीभित्र बहसको तरङ्ग ल्याए पनि व्यापक असहजता झेल्नुपरेको छ।
नेताहरूको आलोचना र दबाबपछि उपमहासचिव शर्मालाई आत्मालोचनाको बाटो रोज्नुपर्ने परिस्थिति सिर्जना भएको माओवादी स्रोतले जनाएको छ।
प्रतिक्रिया