रुपन्देही कारागारमा थुनामा रहेका रविलाई डिल्लीबजार ल्याउने तयारी

मंगलबार, २० जेठ २०८२
फाइल तस्बिर

 काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का  संस्थापक सभापति रवि लामिछानेलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा ल्याउने तयारी भएको छ । 

लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको हाे ।

जिल्ला कारागार कार्यालय रूपन्देहीले लामिछानेलाई डिल्लीबजार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरेको जनाएकाे छ। विभागबाट निर्णय भएलगत्तै लामिछानेलाई डिल्लीबजार कारागार पठाइने बताइएकाे छ ।

डिल्लीबजार कारागारले पनि पूर्वगृहमन्त्री समेत रहेका लामिछाने सरुवा भएर आउने भएपछि बस्ने व्यवस्थाका लागि तयारी थालिएको जनाएकाे छ ।

डिल्लीबजार कारागारमा अहिले ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेले समेत कैद सजाय काटिरहेका छन् । लामिछानेलाई पनि मनाङ्गे रहेको ‘ख’ ब्लकमा राख्ने गरी तयारी गरिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २२ चैत २०८१ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतले १३ माघ २०८१ मा एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर गरेपछि लामिछाने काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए ।

पछि लामिछाने पत्नी निकिताले उनलाई थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । तर, सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो ।

सर्वोच्चको यो आदेशसँगै कम्तीमा जिल्ला अदालत, रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिएसम्म उनी थुनामा रहने भएका छन् । यस्तोमा हिरासत बसाइ लम्बिने बुझेपछि उनले सरुवा भएर काठमाडौं चाहेको इच्छा राखेका हुन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार