धरान : नेपाली कांग्रेसको लोकतान्त्रिक आदिवासी जनजाति संगठन अन्तर्गत स्थापना गरिएको नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघ को पहिलो राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ।
संघले आज धरानमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन आगामी जेठ २३ र २४ गते धरान उपमहानगरपालिका–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा आयोजना गरिने जानकारी दिएको हो।
नेपाली कांग्रेसको मूल सिद्धान्त “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” लाई आत्मसात गर्दै संघले २०७९ सालमा विधान निर्माण गरेको हो। पार्टीको जातीय संगठनको मान्यता प्राप्त गर्दै संघले हालसम्म पूर्वी नेपालका ९ जिल्ला र काठमाडौं उपत्यकासहित १० वटा जिल्ला शाखा विस्तार गरिसकेको छ।
संघका अध्यक्ष उत्तमसिंह थाङदेन का अनुसार लिम्बू समुदायको बाक्लो उपस्थिति रहेका अन्य जिल्लामा पनि शाखा समिति गठन गर्ने तयारी भइरहेको छ।
उनका अनुसार संगठनको मूल उद्देश्य लोकतान्त्रिक सोच भएका तर संगठनबिहीन तथा अन्योलमा परेका लिम्बू समुदायलाई नेपाली कांग्रेसको मूल धारमा समेट्नु हो।
विशेषगरी ‘नो कोशी र नो केवलकार’ जस्ता समसामयिक विषयमा संघले संवाद र सहमतिमार्फत समाधान खोज्ने भूमिका खेल्नेछ।
“नेपाली कांग्रेसजस्तो गौरवशाली पार्टीको मूल नारा आत्मसात गर्दै लिम्बू समुदायको हक, अधिकार र सहभागिता संस्थागत गर्दै लैजाने हाम्रो लक्ष्य हो,” अध्यक्ष थाङदेनले भने,।
महाधिवेशनमा देशभरिबाट प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा संगठनको आगामी कार्यदिशा, नीति, कार्ययोजना र नेतृत्व चयनसम्बन्धी निर्णयहरू हुने अपेक्षा समेत गरिएको छ।
संघले आगामी २०८४ को आम निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग पुग्ने गरी जनताको हकहितमा हकहितको पक्षमा काम गर्ने लक्ष्य लिएको उनले बताए ।
प्रतिक्रिया