इटहरी : संखुवासभाको सदरमुकाम खाँदबारीबाट प्रहरीले १ किलोभन्दा बढी यार्चागुम्बासहित एकजनालाई पक्राउ गरेको छ। राजस्व छली गर्दै अवैध रूपमा यार्चागुम्बा ल्याउँदै गरेको सूचना पाएपछि प्रहरीले मंगलबार बिहान विशेष टोली परिचालन गरी जुम्लाको सिंजा गाउँपालिका–३ का ४६ वर्षीय ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो ।
संखुवासभा प्रहरीले दिएको जानकारीअनुसार शाही को १ ज २६३१ नम्बरको भाडाको बोलेरो गाडीमा मकालु गाउँपालिका–५ नुमबाट खाँदबारीतर्फ आउँदै थिए।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खाँदबारी नगरपालिका–३ स्थित सुमन चोकमा गाडी रोकेर चेकजाँच गर्दा शाहीले बोकेको झोलाभित्र लुकाएर राखिएको अवस्थामा १ किलो ६ सय ७० ग्राम यार्चागुम्बा बरामद गरेको थियो।
इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठका अनुसार यार्चासगैँ नेपाली २५ हजार ४ सय ३० रुपैयाँ र भारतीय ७ सय ३० रुपैयाँसमेत बरामद भएको छ।
प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय संखुवासभाको जिम्मा लगाएको छ।
प्रारम्भिक अनुसन्धानबाट शाहीले यार्चागुम्बा ओसारपसारका लागि आवश्यक कागजात बिना नै राजस्व छली गरी लैजाँदै गरेको पुष्टि भएको प्रहरीको भनाइ छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।
प्रतिक्रिया