हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। आइतबार उनले औपचारिक पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन्।
मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिने क्रममा उनले प्रेस विज्ञप्तिमार्फत आफूले इमानदारिता, सच्चाई र पारदर्शीताको परीक्षामा सफलता प्राप्त गरेको दाबी गरेका छन्।
‘आज इमानदारीको लडाइँमा पराजित हुनुपर्दा मलाई कुनै आत्मग्लानि छैन, बरु सन्तोषको अनुभूति भएको छ,’ उनले भने।
लामाले पार्टी भित्रकै चलखेल र स्वार्थ समूहको दबाबमा आफूलाई राजीनामा दिन बाध्य पारिएको सङ्केत गरेका छन्। यद्यपि उनले स्पष्ट रूपमा कसैको नाम भने लिएनन्।
उनको राजीनामापछि बागमती प्रदेशमा भरखरै मात्रै संसदीय दलको निर्वाचनमा निर्वाचित भएका इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सत्ता समीकरण बन्ने छ ।
प्रतिक्रिया