इलाममा प्लास्टिकजन्य फोहोर व्यवस्थापनको माग

विहीबार, २२ जेठ २०८२

इलाम : पूर्वी नेपालमा पर्यटकीय सम्भावनाले भरिपूर्ण इलाम जिल्ला पछिल्लो समय विदेशी पर्यटकको रोजाइमा परेको गन्तव्य बन्न थालेको छ। श्रीअन्तु, कन्याम, सन्दकपुर, गुफापाताल, माइजोगमाई, थुम्के, मेघमा, तुम्लिङलगायत इलामका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो छ।

यद्यपि, इलामको बढ्दो प्लास्टिकजन्य फोहोरले यहाँको प्राकृतिक सौन्दर्यमा आँच पु¥याइरहेको भन्दै पर्यटकहरूले चिन्ता व्यक्त गरेका छन्।

बेलायतकी पर्यटक सु चेम्बरलेन, जो ४४ वर्षअघि पनि नेपाल आइसकेकी थिइन्, उनले इलाम भ्रमणपछिको अनुभव साझा गर्दै भनिन्, “यहाँको खाना मीठो छ, मान्छे मिजासिला छन्, शान्त र आनन्ददायक वातावरणले मोहित बनाउँछ।” तर, उनले फोहोर व्यवस्थापनको कमजोरीप्रति खिन्नता व्यक्त गर्दै भनिन्, “इलाममा प्लास्टिकको फोहोर धेरै देखियो, यदि समयमै व्यवस्थापन गरियो भने यहाँको पर्यटकीय भविष्य उज्यालो देखिन्छ।”

चेम्बरलेनले आफ्नो अघिल्लो नेपाल भ्रमणमा पोखरा घुमेको र त्यतिबेला फेवाताल निकै रमाइलो लागेको स्मरण गरिन्। तर अहिलेको पोखरालाई तुलना गर्दै भनिन्, “अबको पोखरा कंक्रिट, धुवाँ, फोहोर, बार र डिस्कोले भरिएको छ, पहिलेको जस्तो शान्ति र सौन्दर्य हराएको छ।” त्यही कारणले आफू इलाममा आएर शान्त वातावरणको खोजीमा रमाइरहेको उनले बताइन्।

विदेशी पर्यटकहरू इलामबाट सन्दकपुरसम्मको पदयात्रा गर्दछन् जहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु, सगरमाथाजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। यहाँ नेपालमा पाइने ३६ प्रजातिका गुराँसमध्ये २० प्रजाति पाइन्छन् भने रेडपान्डा, गिद्ध जस्ता दुर्लभ वन्यजन्तु हेर्न आउनेहरूको चाप पनि बढ्दो छ।

साथै, विदेशीहरू नेपाली रैथाने खाना, जातीय भेषभूषा र संस्कृतिप्रति पनि आकर्षित छन्। भारत, बंगलादेश, भुटान, चीनलगायत देशका पर्यटकहरूले इलामलाई ‘शान्त र सुन्दर’ गन्तव्यको रूपमा स्वीकार गरिरहेका छन्।

भारतको पश्चिम बंगालबाट मोटरसाइकलसहित घुम्न आउने पर्यटकहरूले इलाम भ्रमणको भ्लगमार्फत अन्तर्राष्ट्रिय प्रचार गरिरहेका छन्। क्यानेडियन नागरिक ज्याकले त इलामकै सूर्योदय नगरपालिका–१० मा गाई फार्म खोलेर तीन नेपालीलाई रोजगारी पनि दिएका छन्।

इलामलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउन विदेशी पर्यटकहरूले दिएको सुझाव अनुसार फोहोर व्यवस्थापनमा स्थानीय तहले सक्रियता देखाउनुपर्ने माग स्थानीय सरोकारवालाहरूले पनि दोहो¥याएका छन्। पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा अगाडि बढाउन प्लास्टिकजन्य फोहोर नियन्त्रण अपरिहार्य भएको उनीहरूको ठम्याइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार