सङ्खुवासभा : वर्षायाममा पहाडमा हुने बाढी र पहिरोका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सङ्खुवासभामा विपद् पूर्वतयारी अभ्यास गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा खाँदबारीको टुँडिखेलमा बिहीबार भएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस तथा अग्नि नियन्त्रकको सक्रिय सहभागिता थियो।
पूर्वतयारी अभ्यासअन्तर्गत पहिरो जाँदा उद्धार कार्य, राहत वितरण तथा विस्थापितको व्यवस्थापन कसरी गर्ने भन्नेबारे नमुना कार्यहरू देखाइएको थियो।
प्रमुख जिल्ला अधिकारी दिव्यरा पोखरेलका अनुसार यस वर्ष अधिक वर्षा हुने पूर्वानुमान गरिएकोले उच्च जोखिममा रहेका स्थानहरूमा उद्धार तथा व्यवस्थापनको तयारी स्वरूप यो अभ्यास गरिएको हो।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले यस्तो अभ्यासले विपद्को बेलामा जनधनको क्षति कम गर्न सहयोग पुग्ने बताए। उनले सबै तहका निकाय तथा समुदायलाई जोखिम न्यूनीकरणमा सक्रिय हुन आह्वान गरे।
प्रजिअ पोखरेलले विपद् व्यवस्थापन सङ्घीय, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा नपरेकाले प्रत्येक वर्ष उद्धार कार्यमा समस्या हुने गरेको उल्लेख गरे। उनले साधन स्रोतको अभावले तत्कालीन उद्धार कार्यमा थप कठिनाइ हुने बताए।
वर्षायाम सुरु हुनै लागेका बेला गरिएको यो अभ्यासले सङ्खुवासभामा विपद् व्यवस्थापनको तयारीलाई थप सशक्त बनाएको छ।
प्रतिक्रिया