विराटनगर : बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका एक व्यक्ति पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला विराटनगरबाट पक्राउ परेका छन् ।
सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले विराटनगरको महेन्द्र चोकबाट मङ्गलवार पक्राउ गरेको हो ।
रास्वपाले आफ्नो सभापति लामिछानेको पक्षमा जनसमर्थन जुटाउन विराटनगर–३ स्थित पार्टी कार्यालयमा मङ्गलवार हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेको थियो ।
कार्यक्रमपछि कोणसभाका लागि तयारीमा रहेको टोली महेन्द्र चोक पुग्दा त्यहीँ हस्ताक्षर गर्न गएका कोइरालालाई प्रहरीले पहिचान गरी नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीका एक अधिकारी भन्छन्, ‘बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई लामिछानेको पक्षमा हस्ताक्षर गर्न आएको थाहा पाएपछि हामीले पक्राउ गरेका हौँ । त्यसपछि उनलाई सुनसरी प्रहरीको जिम्मा लगाइएको छ ।’
सुनसरी जिल्ला अदालतले असार ३२ गते कोइरालालाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद र २५ हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।
साथै, पीडित बालिकालाई क्षतिपूर्ति स्वरूप २ लाख रुपैयाँ भराउने फैसला भएको थियो । तर, उनी सो फैसलापछि फरार थिए र सजाय भुक्तान गरेका थिएनन् । यद्यपि, अदालतले पुनरावेदनको अधिकार भने खुला राखेको छ ।
अमेरिकाबाट फर्किएको केही समयमै कोइराला गत वैशाखमा पक्राउ परेका थिए । अमेरिकाको टेक्सासमा स्थायी रूपमा बस्दै आएका उनी त्यहाँको नेपाली डायस्पोरा राजनीतिमा समेत संलग्न थिए ।
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । अहिले उनी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा छन् । बुधवार अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।
बाल यौन अपराधमा दोषी ठहर एक व्यक्तिको लामिछानेको पक्षमा जनसमर्थन सङ्कलन अभियानमा देखिनु र त्यस क्रममा प्रहरीद्वारा पक्राउ पर्नु रास्वपाको गतिविधिलाई लिएर नैतिक प्रश्नसमेत उठ्ने देखिएको छ ।
प्रतिक्रिया