काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित विधेयकको प्रतिवेदनमा त्रुटिका लागि संसदीय छानबिन समितिले ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेका प्रतिनिधि सभाको राज्य व्यवस्ता तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
संघिय निजामति सेवा विधेयकमा राख्नुपर्ने कुलिङ अफ पिरियडको व्यस्थामा छेडछाड गरेर ऐनको व्यस्था नै खण्डित हुने शब्दावली राखिएको विषयमा संसदीय छानबिन समितिले नामै तोकेर खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो । समितिको प्रतिवेदन हिजो प्रतिनिधि सभामा पेश गरिएको थियो ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकारी सेवामा मात्र नभइ आफ्नो पार्टीमा समेत उच्च पदस्थ सरकारी कर्मचारीको लागि कुलिङ पिरियडको व्यवस्था गर्नेगरी विधान संशोधनको प्रस्ताव गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार पार्टीको विधानमा सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी संशोधन गर्न प्रस्ताव गरिएको छ ।
यो प्रस्तावउपर निर्णय भने भइसकेको छैन । मंगलबारको बैठकमा थप छलफलका लागि समय नपुगेकोले यो विषय अर्को बैठकमा थप छलफलको लागि प्रस्तुत गरिने र निर्णय गरिने उनले बताए । पार्टीको विधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई सदस्य नबनाउने गरी संशोधनको समेत प्रस्ताव गरिएको छ ।
बैठकले पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गरेको छ । महर्जनले पार्टीको तर्फबाट रुपन्देही ३ मा उम्मेदवार बन्न खोजेकी छिन् तर पार्टीको समानुपातिक उम्मेदवारको सूचीमा रहेकोले उनलाई उम्मेदवार बन्न कानुनले रोकेको थियो । समानुपातिक सूचिबाट हटेसँगै अब उनलाई उम्मेदवार बन्ने बाटो खुलेको छ ।
प्रतिक्रिया