विराटनगर । मोरङका दुई फरक स्थानमा २ जना व्यक्तिको शव भेटिएको छ । उर्लाबारी र बेलबारी नगरपालिकास्थित धानखेतमा शव फेला परेको हो । दुवै घटनामा मृत्युको कारण खुलेको छैन ।
उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू आफ्नै घर नजिकको धानखेतमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनको शव खेतमा घोप्टो परेको अवस्थामा भेटिएको र नाकबाट रगत बगिरहेको तथा हातखुट्टा कक्रिएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाएको छ । घटना अनुसन्धानको नेतृत्व इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बरालले गरिरहेका छन् ।
यसैबीच, बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव पनि सोमबार साँझ आफ्नै खेतमा मृत फेला परेका छन् । उनी साँझ करिब ६ः३० बजे युरिया मल छर्न भन्दै घरबाट खेततर्फ निस्किएका थिए । तर, केहीबेरमै उनी खेतमै मृत अवस्थामा फेला परे ।
प्रहरीले ऋषिदेवको शव पनि घोप्टो परेको अवस्थामा फेला परेको र प्रारम्भिक रूपमा कुनै स्पष्ट घाउचोट नदेखिएको जनाएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा भइरहेको छ ।
दुवै जनाको मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे केही ठोस जानकारी आउन सक्ने प्रहरीले जनाएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया