धरान : धरान उपमहानगरपालिका–८ गुराँस मार्गस्थित एक घरमा कोठा भाडामा बसेका एक युवकको पहिचान खुल्न सकेको छैन ।
मंगलबार बिहान करिब ११ः३० बजे दिलबहादुर लिम्बुको घरको कोठामा मृत भेटिएका उनको वास्तविक ठेगाना, नाम र पारिवारिक विवरण पुष्टि हुन नसकेको हो ।
ताप्लेजुङ घर बताउने ती युवक डेढ महिनाअघि उक्त कोठामा बस्न आएका थिए। धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूका अनुसार अन्दाजी २५ देखि २८ वर्ष उमेरका देखिने ती युवकले आफूलाई सौजन श्रेष्ठ जोशी भनेर परिचय दिएका थिए । “तर, उनको आधिकारिक परिचय खुल्न सकेको छैन,” डिएसपी जबेगूले भने।
कोठाबाट दुर्गन्ध आएपछि घरधनीको बुहारीले झ्यालबाट हेर्दा युवक झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीका अनुसार मृतक गाडी लाइनमा सहचालकका रूपमा काम गर्दै आएका थिए।
हाल शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। युवकको आफन्त वा परिचितले सम्पर्क गर्न प्रहरी कार्यालय धरानमा अनुरोध गरिएको छ।
प्रतिक्रिया