काठमाडौँ : अबदेखि अनलाइन मिडियाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएको छ ।
सूचना तथा प्रसारण विभागले मङ्गलवार सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको प्रक्रिया स्थगन गरेको जनाएको हो।
नेपाल राजपत्र खण्ड ७५, अतिरिक्ताङ्ग २१, भाग २ मिति २०८२ साउन १४ गते प्रकाशित सूचनालाई उद्धृत गर्दै विभागले अबदेखि अनलाइन मिडिया दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थानीय तहअन्तर्गतका जिल्ला प्रशासन कार्यालयबाट हुने जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले तोकिएको ढाँचामा आवश्यक दस्तुरसहित स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्नेछ।’ त्यस्तै, ‘स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी उपयुक्त ठानेमा मिडिया दर्ता गर्न सक्ने’ व्यवस्था उल्लेख छ।
सूचना विभागले ‘नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण कार्य स्थगन गरिएको’ जानकारी दिएको छ।
यस निर्णयसँगै अब नयाँ अनलाइन मिडिया खोल्न वा सञ्चालनमा रहेको मिडियाको नवीकरण गराउन इच्छुक सञ्चालकले जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया अगाडि बढाउनु पर्नेछ। विभागले अबदेखि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि सेवा नदिने स्पष्ट पारेको छ।
प्रतिक्रिया